जुम्लाको मार्सी र सिमीको स्वाद अब क्यानडामा 

काठमाडौं- बीरगञ्ज हुँदै ४० दिनमा बिदेशी बजारमा चामल


  • change font
  • change font
  • change font

जुम्ला- पछिल्लो सयम जुम्ली मार्सी चामल र सिमी अन्तराष्ट्रिय बजार क्यानडामा विक्री हुन थालेको छ । नेपालकै चर्चित ब्राण्ड जुम्ली मार्सी चामल र सिमीको अन्तराष्ट्रिय बजारमा माग बढेपछि क्यानडामा बिक्री थालेको हो । 


स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायी मानिने जुम्लाको मार्सी चामल, सिमी, कोदो लगायत अन्य कृषि बस्तुको अन्र्तराष्ट्रिय बजारमा माग बढ्दै गएको हो । 


अन्तराष्ट्रिय बजारको मागलाई मध्यनजर गर्दै पहिलो पटक ठुलो परिणाममा जुम्ली मार्सी चामल, सिमी, कोदोलगायतको जुम्ली कृषिजन्य वस्तु क्यानडा पठाउने तयारी भइरहेको छ । पहिला नेपालको बास्मति चामल लिएर बेच्ने (लायम फुड कर्पोरेशन) क्यानडाले यसपटक जुम्ली मार्सी लिन थालेको हो । 

 

(लायम फुड कर्पोरेशन) क्यानडाको सहकार्यमा चन्दननाथ नगरपालिका-१० बारकोटेवाडा जुम्लाका राज शाहीले एक महिनाभित्र करिब २० टन जुम्ली मार्सी चामल, सिमी, कोदो क्यानडा निर्यात गर्ने तयारी गरेका छन् । करिब ५० लाख भन्दा माथि मूल्य बराबरको कृषि जन्य बस्तु क्यानडा निर्यातको तयारी भइरहेको जुम्लाका कृषि व्यापारी राज शाहीले बताए ।  

 

उनले भने, ‘१ सय ३० क्विन्टल मार्सी चामल, ५० क्विन्टल सिमी, १० क्विन्टल कोदो र १० क्विन्टल बेसार गरी २ सय क्विन्टल अर्थात २० टन कर्णालीको कृषि बस्तु क्यानडा पठाउदै छु ।’


 
अन्र्तराष्ट्रिय बजारमा जूम्ली मार्सीको बजारीकरण गर्नुका साथै आर्थिक आम्दानी हुने, किसानको जीवनस्तर उकास्नेसँगै समग्र कृषि प्रधान देशको रुपमा नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने लक्ष्य राखेको व्यापारी शाहीको भनाइ छ । 

 

जुम्लाको चन्दननाथ सहकारीले सबै किसानले उचित मूल्य पाउने गरी मार्सी र सिमी खरिद गरिरहेको छ । राम्रोसँग सुकाएर, ढुंगा माटो सबै छानेर जुम्लाबाट पठाएपछि काठमाडौंमा प्याकेजिङ गरी विरगन्ज हुदै क्यानडा पठाइने छ । 


क्यानडास्थित (लायम फुड कर्पोरेशन)का डाक्टर पूर्ण कंडेलको समन्वयनमा जुम्लाको मार्सी र सिमीको प्रर्वद्धन, अन्तराष्ट्रिय बजार पर्वद्धनका लागि पहिलो पटक यति ठुलो मात्रामा कृषि बस्तु पठाउन लागिएको  शाहीले बताए । 


‘अहिले कर्णाली सुपर फुड्स नाममा लेबलिङ, प्याकेजिङ गरेर २० टन जुम्ली मार्सी, सिमी पठाउदै छौं । यसका लागि कर्णाली प्रदेश सरकारदेखि संघीय सरकारको पनि सकारात्मक सहयोग छ,’ उनले भने । 

 

पाँच लाख भाडा तिर बीरगन्जको बन्दरगाह हुदै पानी जहाजमार्फत पठाएको ३५ देखि ४० दिन भित्र कृषि बस्तु क्यानडा पुग्ने छ । पहिलो पटक अन्तराष्ट्रिय बजारमा जान लागेको जुम्ली मार्सीले बजार सन्तोषजनक पाए आगामी दिनमा अन्य देशमा पनि पठाइने छ । 

 

काठमाडौं बसेर जुम्ली कृषि बस्तुको बजारीकरण र प्रर्वद्धन गरिरहेका राज शाहीको कमदलाई जुम्ली किसानले प्रंसशा गरेका छन् ।  राष्ट्यि अन्तराष्ट्रिय बजारमा जुम्ली मार्सी र सिमीको माग बढ्दै गएपछि यसको लोकप्रियतासँगै खेतीमा पनि आर्कषण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । 

 

सरकारले पनि बेच्न थाल्यो मार्सी चामल 

 

नेपाल सरकार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि जुम्ली मार्सी चामल र सिमी विक्री गर्न थालेको छ । १५ माघदेखि कम्पनीले काठमाडौं उपत्यकाका बिक्री काउन्टरबाट बिक्री वितरण सुरु गरेको हो । हालसम्म करीब एक हजार किलो बिक्री भइसकेको छ ।

 

परीक्षणका रुपमा चामल बिक्री गरेको कम्पनीले शुरुआती मूल्य प्रतिकिलो  २ सय २५ रुपैयाँमा बिक्री गरेको हो । काठमाडौं उपत्यकामा रहेका पाँचवटा बिक्री काउन्टर (थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक)बाट ९ सय ५१ किलो मार्सी चामल बिक्री भइसकेको कम्पनीका जुम्लास्थित कार्यालयका प्रमुख तिलक सुनारले बताए ।

 

उनका अनुसार मार्सी चामल बिक्री सुरु गरेकै दिनदेखि उपभोक्ताको रोजाइमा परेको छ । ‘हामीले परीक्षणका रुपमा काठमाडौं उपत्यकाभित्रका पाँचवटै बिक्री काउन्टरमा मार्सी चामल राखेका छौं नसोचेको परिणामा बिक्री हुने गरेको छ,’ उनले भने । 

 

कम्पनीले जुम्लाको मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्डमा आकर्षण प्याकिङ गरेर काठमाडौँमा बिक्री वितरण शुरु गरेको हो । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २ सय ७० क्विन्टल खरीद गरेर काठमाडौं उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री सुरु गरेको हो ।

 

बन्दाबन्दीको समयदेखि शुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ । 


धान खरीद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरीद गर्न प्रतिकिलो १ सय २ रुपैयाँ ५० पैसा र चामल प्रतिकिलो १ सय ६२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।