close

सिंहदरबारका पुनः निर्मित तीन वटा मोहडाको प्रधानमन्त्रीले गरे उद्घाटन

सिंहदरबारका पुनः निर्मित तीन वटा मोहडाको प्रधानमन्त्रीले गरे उद्घाटन

Trulli
ADVERTISEMENT

काठमाडौं- २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारका पुनः निर्मित तीन वटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री ओलीले सोमबार उ्दघाटन गरेका हुन् ।

 

विगत ११ महिनादेखि सिंहदरबार नपुगेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भवन उद्घाटन गर्न सिंहदरबार पुगेका हुन् । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ ।

 

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रवलीकरण मार्फत् भवनलाई भूकम्पबाट सुरक्षित रुपमा पुनर्निर्माण गरिएको बताए । ‘हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुनेगरी पुनर्निर्माण गरेका छौं’, उनले भने, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा रहने गरी हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा संगठन संरचना अनुरुप कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएको छ ।’


पुनर्निर्माण सम्पन्न भई उद्घाटन गरेको मोहडाहरु वि.सं. २०३० को आगलागीमा परेपछि २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको थियो ।

 

भौतिक प्रवलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपतकालीन तथा अग्नी नियन्त्रक संयन्त्रका अलावा कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावा सहितको वातानुकुलन प्रणाली जडान गरिएको छ ।


सिंहदरबार पुनर्निर्माणको कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापन मार्फत् यी मोहडाको पुनर्निर्माणमा हालसम्म भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।


सिंहले उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको जानकारी दिए । 


२०७६ असोज २७ बाट सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माण कार्य भने  हालसम्म ५० प्रतिशत मात्र सकिएको छ ।