close

हित चिताउनेदेखि कर बुझाउनेसम्म सम्मानित 

हित चिताउनेदेखि कर बुझाउनेसम्म सम्मानित 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरपालिकाले ६२औँ स्थापना दिवस मनाएको छ । ६२ वर्ष पहिले नगरपालिका स्थापना भएको थियो ।

 

स्थापना दिवस अवसरमा कार्यालय परिसरमा आयोजित मूल समारोह शुभारम्भ गर्दै उपमहानगर प्रमुख शिवराज सुवेदीले नयाँ व्यवस्था र प्रणालीमा शून्यबाट काम गरेर पनि हेर्ने र देख्ने गरी विकास भएको दाबी गरे ।

 

बुटवलमा क्रियाशील राजनीतिक पार्टीहरूले चुनावी घोषणापत्रमा उल्लेख गरेका योजनालाई सम्बोधन गर्ने गरी बुटवल उपमहानगरले आवधिक र दीर्घकालीन महत्त्वका योजनासहितको गुरुयोजना निर्माण गरेको प्रमुख सुवेदीले जानकारी दिए । 

सबल आर्थिक केन्द्रः समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुसी जनताको संकल्प साकार पार्ने र बुटवललाई अवसरको सहरका रूपमा विकास गरिने प्रमुख सुवेदीको भनाइ छ । 


महानगरीय अवधारणाका साथ बृहत् बुटवल स्थापना गर्ने गरी विभिन्न खाले योजना छनोट गरेर ३ तहका सरकार, निजी क्षेत्र, सामाजिक संघ–संस्था र नागरिक अगुवाको सहकार्यमा साकार पार्ने लक्ष्य रहेको प्रमुख सुवेदीले बताए ।


‘साना योजनाहरू बुटवल उपमहानगर आफैंले, मझौला योजना प्रदेश सरकार र ठूला योजना सम्पन्न गर्न संघीय सरकारसँग तथा कतिपय व्यावसायिक प्रवद्र्धनका योजनामा निजी क्षेत्रसँग सहकार्य गरेर काम गरिनेछ,’ प्रमुख सुवेदीले भने । 


भूमिहीनलाई जमिनको मालिक बनाउने, खरका छानामुक्त बुटवल बनाइने, घरबासविहीन विपन्न दलितलाई घरबासको व्यवस्था मिलाइने, युवालाई इलम सिकाइने, इलमअनुसारको कामको प्रवन्ध मिलाइने र अवसर सिर्जना गरेर तिनलाई विस्तार गर्ने काममा केन्द्रित रहेको प्रमुख सुवेदीले जानकारी दिए ।


बुटवल उपमहानगरले हिलपार्कमा बुद्ध पहिचान पार्क, जितगढीमा बटौली युद्ध संग्रहालय, जितगढी सम्पदाको सम्वद्र्धन र विस्तार, मोतिपुरमा थारु सांस्कृतिक संग्रहालय, नयाँगाउँमा ढुवानीग्राम, नरेनापुरधाममा भ्यूटावर, बैठौलिया तालमा व्यवस्थित नौकाविहार र थारु होमस्टे तथा बुटवल रामनगरमा आधुनिक पशु वधशालाजस्ता महत्त्वपूर्ण आयोजना निर्माणका काम सुरु गरेको जनाएको छ । 


साथै, आन्तरिक बाइपास सडकको विस्तार र स्तरोन्नति, बुटवल चक्रपथ निर्माण, मिलन पार्क बहुउद्देश्यीय केन्द्र र खेल मैदान निर्माणलाई अगाडि बढाइएको छ ।


नगर गौरवका आयोजनाका अतिरिक्त प्रदेश र संघीय सरकारको सहकार्यमा दीर्घकालीन महत्त्वका योजना बुटवलमा सञ्चालित छन् । निजी क्षेत्र, सामाजिक संघ–संस्था तथा समाजसेवीको सहयोग एवं सहकार्यमै बुटवलमा महामारी नियन्त्रणको काम प्रभावकारी भएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।


कार्यक्रममा गौतमबुद्ध सामुदायिथक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्याल, बुटवल नगरपालिकाका भूपू प्रमुख पुनाराम पोखरेललगायतले सबै नगरबासीलाई अपनत्व हुने गरी कार्य सम्पादन गर्न र व्यावसायिक मैत्री वातावरण बनाउन आग्रह गरे ।


निमित्त कार्यकारी प्रमुख मित्रमणि खनाललगायतले धन्यवाद र वरिष्ठ अधिकृत विष्णु खनालले कार्यक्रम सञ्चालन गरे । 


विभिन्न व्यक्ति, कर्मचारी र संघ–संस्था सम्मानित


महामारी नियन्त्रणका बेलामा आइसोलेसनमा खटेर खाना खुवाउने, सुरक्षा प्रबन्ध मिलाउने सुरक्षाकर्मी, कर्मचारीदेखि उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट टोल विकास संस्था, हरियाली प्रवद्र्धनमा सक्रिय संस्था तथा व्यक्ति र विभिन्न व्यक्तित्वलाई समेत स्थापना दिवस अवसरमा सम्मान गरियो । 


ठूला करदाताका रुपमा सबैभन्दा धेरै सम्पत्ति कर बुझाउनेमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड, एभरेष्ट बोर्डिङ स्कुल, नेपाल टेलिकम, मधुसूदनलाल श्रेष्ठ, मानबहादुर केसी, विलासमोहन बझानथाक्क्षेलाई सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए । 


यसैगरी सबैभन्दा धेरै बहाल कर बुझाउनेमा मधुसुदनलाल श्रेष्ठ, पोस्टराज ज्ञवाली, मञ्जु ज्ञवाली, ज्ञानेन्द्रप्रसाद मल्लीलाई सम्मान गरिएको थियो ।


उपमहानगरमा ३० वर्षभन्दा बढी सेवा अवधिका ९ र अन्य ५ जना गरी १४ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्य सम्पादनमा उत्कृष्ट १५ जना कर्मचारीलाई नगद जनही १५ हजार रुपैयाँका दरले सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसरमा १९ वडाका उत्कृष्ट टोल विकास संस्थालाई पनि सम्मान गरिएको थियो ।