close

रोहिणीको ८औं गाउँसभा, सवा ५३ करोडको आयव्यय सार्वजनिक

रोहिणीको ८औं गाउँसभा, सवा ५३ करोडको आयव्यय सार्वजनिक

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको रोहिणी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्षको ५३ करोड १५ लाख ८५ हजार ३ सय ३६ रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको छ ।


गाउँसभाले गाउँपालिकामा रहेका सडकको मापदण्डसमेत तय गरेको छ । गाउँपालिकाको गल्ली बाटोका लागि न्यूनतम १४ फिट, भित्री सडकको २० फिट, महत्त्वपूर्ण सडक, दुई वा सोभन्दा बढी वडा जोडने सडकको चौडाइ न्यूनतम २४ देखि ३० फिट तोकिएको पालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए । 

 

यस्तै, प्रदेश र संघस्तरीय सडक प्रदेश र संघ सरकारले कायम गरेको मापदण्डबमोजिम रहने तथा गल्ली र सडकको चौडाइ पछि ५ फिट सेट ब्याक कायम हुने सभाले निर्णय गरेको छ । 


चालू आर्थिक वर्षको माघ मसान्तसम्म गाउँपालिकाको चालू खर्चतर्फ ३० दशमलव ८९ प्रतिशत र पुँजीगततर्फ ३ दशमलव ५६ प्रतिशत खर्च भएको अध्यक्ष यादवले बताए । 

 

यस्तै, गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा सरकारी आधारभूत तह एवं माध्यमिक तहमा कार्यरत करार तथा पिसिएफतर्फका शिक्षक र कार्यलय सहयोगीको समस्यालाई पनि सभाले सम्बोधन गरेको छ ।

 

तलब अपुग भएको पटक–पटकको विद्यालयको गुनासो सम्बोधन गर्न औचित्य र पुष्ट्याइँका आधारमा गाउँपालिकाले अनुगमन गरी शिक्षा शाखाबाट पेस भएको प्रतिवेदन हेरेर निकासा दिने नीतिगत निर्णय भएको छ । 


गाउँपालिकाले गत आर्थिक वर्षमा १ करोड ३८ लाख ५६ हजार ५ सय ८२ रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा आम्दानी भएकामा १ करोड ९ लाख ४४ हजार १७ रुपैयाँ विभिन्न शीर्षकमा खर्च भएको प्रतिवेदन सार्वजनिक गरेको छ । 

 

गाउँपालिकाको प्राथमिकतामा  भवन र वडा कार्यालय भवन निर्माणलाई ध्यानमा राखी बजेट बाँडफाँट गरिने सभाध्यक्ष यादवले जानकारी दिए । 

 

कार्यक्रममा उपाध्यक्ष शिवकान्ति हरिजन, वडाध्यक्षहरू आविद अलि पठान, वीरबहादुर क्षेत्री, तारानाथ यादव, घनश्यामसिंह क्षेत्री, इन्द्रमान चौधरीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले गरेका थिए ।