close

लुम्बिनीको ३ वर्ष: ४०३ किलोमिटर सडक कालोपत्रे, विपन्नलाई ३ हजार घर  

लुम्बिनीको ३ वर्ष: ४०३ किलोमिटर सडक कालोपत्रे, विपन्नलाई ३ हजार घर  

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश स्थापना दिवस मनाएको छ । प्रदेशसभाको बैठकबाट २० असोजमा लुम्बिनी प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेको थियो ।


यो ५ महिनाको अवधिमा प्रदेश सरकारले राजधानी कार्यान्वयनको लागि नीतिगत निणर्यसहित राजधानी सहरको गुरुयोजना निर्माणको काम अघि बढाएको छ ।


लुम्बिनी प्रदेशको स्थापना दिवस दाङको राप्ती प्राविधिक शिक्षालय गोबरडिहामा मनाइएको हो । कार्यक्रममा राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालय उद्घाटनसमेत गरियो ।


राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । यसअघि देउखुरीको बिजौरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको थियो । 


अबको ८ महिनाभित्र गुरुयोजना बन्ने र त्यसपछि प्राथमिकताका आधारमा पूर्वाधार निर्माण सुरु हुने मुख्यमन्त्री शंकर पोखरेलले बताए । पहिलो चरणमा राजधानी क्षेत्रमा प्रदेश सरकार तथा प्रदेश सभाअन्तर्गतका प्रशासनिक कार्यालयको पूर्वाधार बनाइनेछ ।


अबको २ वर्षभित्र यी संरचना बनाउने र प्रदेशसभा सदस्यको चुनावअघि राजधानीसँग जोडिएका प्रशासनिक कार्यालयहरू राजधानी क्षेत्रमा स्थापना गरिने सरकारको योजना रहेको पोखरेलले जानकारी दिए ।


प्रदेश सरकार स्थापनापछि पूर्वाधार विकासमा ४ सय ३ किलोमिटर सडक कालोपत्रे, ४ सय ९४ किलोमिटर सडक ग्राभेल, ७ सय ८७ किलोमिटर कच्ची सडक निर्माण, ३ सय ३१ किलोमिटर नयाँ ट्रयाक खोलिएको मुख्यमन्त्री पोख्रेलले जानकारी दिए ।


यस्तै, २८ वटा नयाँ पक्की पुल निर्माण भएका, ९ वटा झोलुंगे पुल बनेका, ७५ वटा नयाँ पक्की पुलको डीपीआर तयार भएको छ । ‘३ हजार ३ सय ३९ गरिब, विपन्न दलित, मुस्लिम, अल्पसंख्यक परिवारलाई पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको छ’, मुख्यमन्त्री पोखरेलले भने ।


प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको पहिलो अध्याय प्रदेशको राजधानी र नामको टुंगो लगाएर सुरु भएको जानकारी दिए । 


लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस अवसरमा विभिन्न पदकबाट ५८ जनालाई विभूषित गरेको छ । उनीहरूलाई ३ असोजमा बुटवलमा घोषणा गरिएको विभिन्न पदकबाट दाडमा विभूषित गरिएको हो ।