close

उपेक्षामा परेको एउटा गुरुकुल कथा

गाउँ धाएरै अन्नबाली संकलन गर्नुपर्ने बाध्यतामा वटुक

उपेक्षामा परेको एउटा गुरुकुल कथा

गाउँ धाएरै अन्नबाली संकलन गर्नुपर्ने बाध्यतामा वटुक

Trulli
ADVERTISEMENT

मोरङ– गुरुकुल शिक्षा राज्यको उपेक्षामा पर्दा विद्यार्थीहरू कष्टकर रूपमा शिक्षा लिन बाध्य छन् । सरकारले गुरुकुल शिक्षालाई उपेक्षा गरेकै कारण धेरै विद्यार्थीको अवस्था दयनीय रहेको भेटिएको हो ।

 

यसको एउटा उदाहरण हो, मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ मा रहेको बैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठ । संस्कृत भाषाको पढाइ हुने गरेको यस विद्यालयमा २९ जना विद्यार्थी छन् । 

 

यहाँ पढ्ने विद्यार्थीहरू अहिले पनि गाउँ–गाउँ गएर अन्नबाली संकलन गर्छन् । पढाइ खर्चकै लागि उनीहरूले यस्तो गरेका हुन् ।  ‘बाली थन्क्याउने सिजनमा गाउँ–गाउँमा गएर अन्नबाली मागेर ल्याउँछौँ । ल्याएको अन्नबाली वर्षभरिलाई खान पुर्‍याउनुपर्छ’, विद्यार्थी समीर घिमिरेले भने । 


गुरुकुलसँग जोडिएको संस्कृत शिक्षा जीवनोपयोगी र व्यावहारिक मानिन्छ । घरमा नबसी गुरुका अधीनमा रहेर ब्रह्मचार्यपूर्वक त्याग एवं तपस्यायुक्त जीवनयापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरुकुल शिक्षा प्रणालीको उद्देश्य हो ।

 

यो विद्यालयमा २ जना शिक्षक र १ जना कर्मचारी छन् । गास, बास र कपाससहितको शिक्षा दिनुपर्ने भएकाले अन्नबाली संकलन गर्नु परेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम खतिवडाले बताए । 

 

जंगलको बीचमा रहेको विद्यालयमा हात्ती तथा अन्य जंगली जनावरको समेत डर हुने गरेको विद्यार्थी बताउँछन् । विद्यालयका भवन सामान्य भएकाले विद्यार्थी (वटुक) को सुरक्षाका लागि राती अबेरसम्म जागै बस्ने गरेको गुरुकुलका प्रधानाध्यापक एकराज भट्टराईले सुनाए । ६ वर्षको उमेरमा गुरुकुल प्रवेश गर्नुपर्ने हुन्छ । नेपालमा प्राचीनकालदेखि चलिरहेको गुरुकुल शिक्षा अहिले हराउँदै गएकामा उनको चिन्ता छ । 

 

सरकारकै उपेक्षाका गुरुकुल शिक्षामा आकर्षण कम हुँदै गएको भट्टराई बताउँछन् । सरकारले ध्यान नदिँदा विभिन्न जातजाति तथा धर्म–संस्कारसँग जोडिएका पठन–पाठन बन्द हुने अवस्थामा पुगेको स्थानीय पेरिस सुवेदीको भनाइ छ ।


विद्यालय भवनको एउटा कोठामा धानचामल राख्ने गरिएको छ । विद्यार्थीलाई सुत्न–बस्नसमेत समस्या छ । सहरका महँगा विद्यालयमा पठन–पाठन गर्ने प्रचलन बढिरहेका बेला प्राचीन धर्म–संस्कृतिको धरोहर संरक्षणको अभिन्न अंग गुरुकुल शिक्षा लिने विद्यार्थी तथा विद्यालय परिवार नै दाताको भरमा अडिनुपरेको छ ।

 

विद्यालयको अवस्था हेर्दा नेपालमा सरकारै छैन भन्ने आभाष भएको विराटनगरबाट विद्यार्थीका लागि केही सामग्री लिएर आएका भवेश पौडेलले बताए । राज्यको लगानी न्यून भएकै कारण गुरुकुल पढ्ने विद्यार्थी मारमा पर्ने उनको भनाइ छ ।

 
प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला तथा निर्वाचन क्षेत्रसँगै जोडिएको यो गुरुकुलका लागि लेटाङ नगरपालिकाले वार्षिक २ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो विद्यालयलाई गत वर्ष प्रदेश सभासद् उपेन्द्र घिमिरेले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत केही रकम उपलब्ध गराएका थिए ।