close

नमुना बन्दै  सिरिजंघाका टोल विकास संस्था

नमुना बन्दै  सिरिजंघाका टोल विकास संस्था

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचामा गठित टोल विकास संस्थाले स्थानीय विकास निर्माणका काममा प्रत्येक महिनाको १ दिन जनश्रमदान गर्ने निर्णय गरेको छ ।

 

निर्णयबमोजिम सिकैचामा अहिलेसम्म टोल विकास संस्थाको जनश्रमदानमा ५ वटा योजना सम्पन्न भइसकेको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सन्तोष चाम्लिङले जानकारी दिए ।

 

संस्थाका अध्यक्ष शान्ति योङ्हाङ यवागुका अनुसार टोल विकास संस्थामा ६१ घरधुरी आबद्ध छन् । टोल विकास संस्थाका प्रत्येक घरधुरी सदस्यले महिनाको एक दिन जनश्रमदान गरेर अहिलेसम्म जनश्रमदानमै ५ वटा योजना सम्पन्न गर्न सकेको यवागुले बताइन् ।


सिरिजंघाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार तुम्याखोला पावरहाउसदेखि तल्लो टारी र हिमानदेखि आहाले डाँडासम्म जाने गोरेटो बाटो निर्माण भएको छ । यस्तै, हिमादेनमा मन्दिर मर्मत तथा सफाइ, भन्ज्याङदेखि वडा कार्यालयसम्म जाने सडकमा ढुंगा जाली भर्ने काम र भाङ्बारीदेखि पाठकडाँडासम्मको गोरेटो बाटो निर्माण भएका छन् । 

 

भाङ्बारीदेखि पाठकडाँडा सम्मको गोरेटो बाटो भने निर्माणाधीन अवस्थामा रहेको टोल विकास संस्थाकी अध्यक्ष यवागुले जानकारी दिइन् । गाउँपालिकाले प्रत्येक वडामा ९ वटाका दरले गाउँपालिकाभित्र ७२ वटा टोल विकास संस्था गठन गरेको छ । 

 

‘सिरिजंघाका टोल, विकासका खोल’ नारा दिएर गाउँको विकास निर्माणलगायतका कार्यमा टोल विकास संस्थालाई उत्तरदायी बनाउन गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै टोल विकास संस्था गठन तथा परिचालन ऐन, २०७६ ल्याएको थियो । 

 

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार साविकका गाउँ विकास समितिका प्रत्येक वडालाई एउटा टोल विकास संस्था गठनको क्षेत्रमा समेटिएको छ ।

 

गाउँपालिकाले १० लाख रुपैयाँभन्दा मुनिका र मानव शक्ति प्रयोग गरेर सम्पन्न गर्नुपर्ने विकास निर्माणका योजनासमेत टोल विकास संस्थामार्फत सञ्चालन गर्ने कार्यविधि निर्माण गरी तिनलाई विकासको साझेदारसमेत बनाएको छ । 

 

टोल विकास संस्था आफैंले आफ्नो क्षेत्रभित्र विकास निर्माणका काम गर्न आफैं योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारीसमेत रहेको हुन्छ ।