close

तिलोत्तमामा अत्याधुनिक कोलोनी बन्दै, २ अर्ब बढी लागतको परियोजना

तिलोत्तमामा अत्याधुनिक कोलोनी बन्दै, २ अर्ब बढी लागतको परियोजना

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा लुम्बिनी अष्टद्वीप मल्टिनेसनल प्रालिले आधुनिक बस्ती निर्माणका लागि आवास विकास परियोजना सुरु गरेको छ । 

 

तिलोत्तमाको वडा नम्बर ७ भलबारीमा करिब ६ बिघा क्षेत्रफलमा १ सय २३ वटा अत्याधुनिक सुविधासम्पन्न घर निर्माण गर्न लागेको हो ।


२६ फुट मूल बाटो तथा २४ फुटे सहायक बाटो रहने गरी नेपाल सरकारको सहरी विकास मापदण्डअनुसार साढे २ तलाका भूकम्परहित घर निर्माण गरिने कम्पनीका अध्यक्ष नेत्रलाल वनले बताए ।


सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवा-बुटवल सडक खण्डको भलबारी चोकदेखि १४ सय मिटर पूर्वमा निर्माण गरिने एकीकृत बस्तीमा खेल मैदान, बाल उद्यान, जिम खाना, स्विमिङ पुल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेस्टुराँ, सैलुन तथा मन्दिरसमेत निर्माण गरिनेछ ।


विशेषगरी मध्यम वर्गको आर्थिक अवस्था भएकालाई लक्षित गरी सञ्चालन गरिने परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिनेछ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने कम्पनीले बताएको छ ।


एन्ट्रास्पेस टेक्निकल कन्सल्टद्वारा डीपीआर तयार पारी काम भइरहेको एकीकृत बस्तीमा पहिलो समूहअन्तर्गत घरका लागि २ करोड ५० लाख तथा दोस्रो समूहअन्तर्गतका घरका लागि सूचीकृत मूल्य १ करोड ७५ लाख रुपैयाँ कायम गरिएको छ । 

 

२ अर्ब रुपैयाँ बढी लागत अनुमान गरिएको परियोजनाका लागि कम्पनीले सेञ्चुरी कमर्सियल बैंकसँग सहकार्य गरी घर लिन चाहनेलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउनेछ ।

 

हालसम्म निर्माण गर्न लागिएको आधुनिक बस्तीका लागि १५ वटा घरको बुकिङ भइसकेको अध्यक्ष वनले बताए । 

 

परियोजनाअन्तर्गत बन्ने घर निर्माण सम्पन्न भएर बिक्री भइसकेपछि सार्वजनिक स्थान तथा बस्तीका लागि निर्माण गरिएका पार्क तथा विभिन्न संरचना सोही बस्तीलाई हस्तान्तरण गरिनेछ । 

 

३ वर्षभित्र परियोजना सम्पन्न गर्ने गरी काम गरिरहेको कम्पनीले कुनै पनि ग्राहकले घर बुकिङ गरेको कम्तीमा ६ महिनाभित्र उपलब्ध गराइने दाबी गरेको छ ।