close

ट्राउट हब बन्दै मेलम्ची करिडोर

ट्राउट हब बन्दै मेलम्ची करिडोर

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- दशकअघि राजधानीबासीको तिर्खा मेट्ने मेलम्ची खोला किनारमा सुरु गरिएको ट्राउट फार्मले अहिले करिडोर भरिन लागेको छ । साविक पाल्चोक गाविसका पूर्वअध्यक्षसमेत रहेका रामबहादुर खड्काले सुरु गरेको ट्राउट व्यवसाय मेलम्ची किनारभर विस्तार भएको हो ।


चिसो पानी रहेको मेलम्ची करिडोरमा ट्राउट व्यवसाय फस्टाउने सल्लाह पाएपछि खड्काले लगानी गरेका हुन् । अमेरिका जाने मनस्थिति परिवर्तन गरेर सिताके च्याउ खेती व्यवसाय गर्न लागेका उनलाई ट्राउट प्रवद्र्धक डा. टेकबहादुर गुरुङले मन परिवर्तन गराएका थिए । गुरुङकै सल्लाहमा सुरुमा २ सय ट्राउट राखेर व्यवसाय सुरु गरेको उनी अहिले स्मरण गर्छन् ।


खड्काले सुरु गरेको २ वर्षपछि इचोकस्थित चनौटेका ज्ञानेन्द्र कक्षपतिले अर्काे ट्राउट फार्म सुरु गरे । त्यसपछि क्रमशः ट्राउट फार्म बढ्न थालेपछि मेलम्ची करिडोर ट्राउट हब बन्दै गएको हो । 


अहिले तालामाराङदेखि हेलम्बुको तिम्बुसम्म ९ वटा पुगेका छन् । ‘ट्राउट व्यवसाय गर्ने भनेर सुरु भयो । प्राविधिक सीप नहुँदा २ वर्ष निराशामै बित्यो,’ खड्का भन्छन्, ‘गाउँमै नौलो व्यवसाय गरेको भएकाले हिम्मत हार्न सकिनँ । अहिले राम्रो भएको छ ।’ 


सुरु गरेको तेस्रो वर्षमा बजार समस्याले सताएको उनले बताए । पछि उत्पादन सोचेभन्दा निकै राम्रो भए पनि खरिद गर्ने व्यक्ति नहुने गरेको उनले स्मरण गरे ।


मेलम्ची किनारमा रेन्बो ट्राउट माछापालन सुरु गर्दा स्थानीय अचम्भित भएका थिए । असला र कत्ले माछा पाइने मेलम्ची खोलाको किनारमा लाखौँ रुपैयाँ खर्चेर खड्काले ट्राउट फार्म सुरु गरेका हुन् । पाल्चोकबेँसीको लहलह धान फल्ने खेतमा खड्काले सुरु गरेपछि स्थानीय चकित भएका थिए । ‘२ वर्ष घाटा हुँदा गाउँलेले कुरा काट्न थालेका थिए’, खड्का भन्छन्, ‘पछि उत्पादन पनि हुने र बजारसमेत पाउन थालेपछि अरूहरू व्यवसायमा आकर्षित भएका हुन् ।’


पहिले माछा खरिद गर्ने व्यक्ति, होटल खोजेर हिँड्नुपर्ने समस्या थियो । तर, अहिले फार्ममै खरिद गर्न व्यवसायी तथा व्यक्ति आउने गरेका छन् । राजधानीबाट नजिक भएकाले ट्राउट खानकै लागि भनेर मान्छेहरू अहिले मेलम्ची करिडोर धाउने गरेका छन् । राजधानीका अलावा बनेपा, धुलिखेल, चौताराबाट पनि ट्राउट लिनेहरू आउने क्रम बढेको छ ।

 

मेलम्ची आयोजना सम्पन्न भइसकेपछि खोलामा पानी नहुने समस्याले अहिले ट्राउट व्यवसायीलाई सताएको छ । ‘बजार बढेको छ । यति धेरै लगानी गरेका छौँ । मेलम्ची आयोजनाले अन्योल बढायो,’ अर्का व्यवसायी ज्ञानेन्द्र कक्षपति भन्छन्, ‘भूकम्पमा सबै माछा मरेकाले घाटा भयो । अहिले बल्ल फर्म पुरानै अवस्थामा पुग्न लागेका बेला आयोजनाले सताउला भन्ने चिन्ता छ ।’


उनका अनुसार करिडोरमा झन्डै ७ करोड रुपैयाँको लगानी ट्राउट फर्ममा गरिएको छ । आयोजनाले पानी छाडेको खण्डमा या करिडोरमा रिसोर्टसहित ट्राउट व्यवसाय गर्नेहरू अझै बढ्नेछन् ।