close

खुलामञ्चमा चल्यो डोजर

खुलामञ्चमा चल्यो डोजर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुलामञ्च खुलाउने अभियान थालेको छ । राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुल निर्माण सम्पन्न भएको र वीर अस्पतालसमेत निर्माण सम्पन्न चरणमा पुगेपछि महानगरले खुलामञ्च खुलाउन थालेको हो ।

 

ती संरचना निर्माणका लागि थुपारिएका निर्माण सामग्री र संरचना हटाएर सफा पार्न महानगरले डोजर लगाएको हो ।


‘राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुल र वीर अस्पताल निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्री र काम गर्ने केही कामदार राखिएको थियो’, महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘दरबार हाइस्कुल पुनर्निर्माण भइसक्यो । वीर अस्पताल निर्माण अन्तिम चरणमा छ । उहाँहरूलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ विस्तारै बसपार्क पनि खुल्ला गर्ने अभियानमा रहेको उनको भनाइ छ । 


‘काठमाडौं महानगर सार्वजनिक जग्गा संरक्षण अभियानमा लागिपरेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन, महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरले खोजी गरी पार्क बनाउने, खुला राख्ने अभियान चलाएको हो ।’ 


कोभिड-१९ लगायत कारण संरचना निर्माणमा केही ढिलाइ भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाइ भएको हो । 


पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, ¥याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेसँगै महानगरबासीलाई असहज भएपछि खुलामञ्च क्षेत्र खाली गर्न लागिएको हो ।

 

उनले भने, ‘प्राचीन कालदेखि काठमाडौंको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै बनाउँछौँ ।’ अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा आमसभा गर्ने दिन महानगरले समन्वय गरी सवारी आउजाउ अस्तव्यस्त नहोस् भन्न सवारीलाई टुँडिखेल घुमाई बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरेको छ ।’ 


काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्न निर्देशन दिइएको बताउँछन् ।

 
केही दिनअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदनअनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएकाले थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताएका थिए ।