close

हेलम्बुको सौन्दर्यमा लोभिए पर्यटक 

हेलम्बुको सौन्दर्यमा लोभिए पर्यटक 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- बाटैभरि बौद्ध धर्मावलम्बीहरूको सेता आकर्षक माने, बाटैभरि गुम्बा, रंगीन ध्वजापताकाले सिंगारिएको सिंगो गाउँ । आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल अनि मनमोहक डाँडाकाँडा देखेर सिन्धुको पर्यटकीय गाउँ हेलम्बु आइपुगेका जाउलाखेल ललितपुरका विपुल शाक्य छक्कै परे । 

 

राजधानीको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने बहानामा हेलम्बु आइपुगेका उनले आँखै अगाडि पहिलोचोटि हिमाल देखेर दंग परे ।


साताअघि हेलम्बु आइपुगेका उनले मौसमले साथ दिएकै कारण हिमाल हेर्न पाए । हल्का पानी परेपछि परेको हिउँको स्पर्श लिनसमेत उनले भ्याए । 


०७२ को भूकम्पले गुम्बाको सहर भनेर चिनिइने हेलम्बुको धार्मिक स्थललाई ग्राउन्ड जिरो बनायो । पुनर्निर्माणमा आएका विविध समस्यालाई यहाँका स्थानीयको एकताले समाधान बनाएपछि अहिले माने, गुम्बाहरू ठडिएका छन् ।

 

पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, माने देखेर आफू रमाएको शाक्यले सुनाए । हेलम्बुभित्रको पनि पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको उनको भनाइ छ ।


‘यहाँको सुन्दरताको वर्णन गर्न मेरो क्षमताले भ्याउँदैन । निकै राम्रो गाउँ रहेछ,’ उनले भने । यहाँको परिवेश, संस्कृति नेपालभित्रकै नमुना हुन सक्नेसमेत भन्न भ्याए ।

 

भूकम्प गएको ५ वर्षपछि पूर्वाधार, धार्मिक स्थलको पुनर्निर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तंग्रिन थालेको छ । क्षतिग्रस्त बस्ती र धार्मिक स्थल बिस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाअन्तर्गतको प्रसिद्ध स्थलमा दैनिक आउने पर्यटकको संख्या बढेको हो ।

 

उनीसँगै हेलम्बु अइपुगेका रविन महर्जनले पनि यहाँको बखान गरे । एकैनासे ह्योल्मो संस्कृति झल्काउने लहरै उभिएका हरिया घर उनलाई अचम्म लागे । ‘यहाँको कृषि क्षेत्र पनि उदाहरणीय लाग्यो,’ उनी भन्छन्, ‘स्याउ फल्छ भन्ने सुनेको मात्रै थिएँ । अहिले आफैंले देखेँ ।’

 

उनले यहाँ गरिएको किबी खेती लोभलाग्दो रहेको वर्णन गरे । अझै समथर भूभागमा मिलेर बसेको तार्केघ्याङ बस्ती निकै सुन्दर रहेको उनले सुनाए । ‘हामीलाई एउटै बस्तीमा रंगीन ध्वजापताका र गुम्बाले निकै आकर्षित गरेको छ,’ उनले भने ।


शाक्य र महर्जन मात्रै हैन, भूकम्पपछिको पुनर्निर्माणपछिको सुन्दरता देखेर यहाँ आइपुग्ने पर्यटक मोहित हुने गरेका छन् । गुम्बा पुनर्निर्माण चल्दै गर्दा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । 

 

वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायांग्री, मेलम्चीघ्याङलगायत स्थलमा पुग्थे । अहिले पूर्वाधार र धार्मिक मन्दिर निर्माण भएकै कारण दैनिक ३५/४० आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 


‘पर्यटकीय पदमार्गका लागि भनेर दिनहुँ १० जना बढी विदेशीहरू पनि आउँछन् । उनीहरूले माथिल्लो क्षेत्र घुम्न लक्ष्य राखेका हुन्छन्,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘पर्यटकीय गाउँ हेलम्बुमा गुम्बालगायत अन्य भौतिक पूर्वाधार र आरामदायी बास बस्ने रिसोर्टलगायतको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका हुन् ।’

 

ह्योल्मो जातिको उद्गम स्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइलामा पर्यटक पुग्ने गर्छन् । समुद्री सतहबाट ३ हजार ७ सय ७० मिटरमा पर्ने आमायांग्री पर्यटकका लागि पहिलो रोजाइमा पर्दछ ।

 

पदयात्रा रुचाउनेहरू प्रायजसो आमायांग्री पुग्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । यो ठाउँ जान सवारी साधन पुग्ने स्थानबाट झन्डै ४ घन्टा उकालो लाग्नुपर्छ ।


अहिले चर्चाको शिखरमा पुगेको यहाँ निर्माणाधीन ग्रेट टेलले झनै पर्यटन आकर्षण बढाएको छ । किउलको सेर्माथान, मेलम्चीघ्याङस्थित पर्यटकका लागि लक्षित गरेर बनाइएको होटल, रिसोर्ट पहिलेकै सुविधासम्पन्न अवस्थामा ल्याइसकिएको छ । 

 

२ दर्जन सडक, बिजुलीदेखि खानेपानीलगायतका सबै सुविधालाई लक्ष्य बनाएर सबै पूर्वाधारको काम एकैसाथ गरिएपछि पर्यटकको रोजाइमा हेलम्बु परेको शेर्पाको दाबी छ । 


हेलम्बुबाट गोसाइँकुण्ड पदमार्ग हुँदै पुग्न सकिन्छ । सिमसिदाङ हिमाल, गन्जलापास-लाङटाङ क्षेत्र पुग्ने २ दिने २ वटा पदमार्ग बन्दै छन् । त्यसैगरी सुन्दरीजल–कुटुङसाङ, घोप्टेघ्याङ-मेलम्चीघ्याङ, तिम्बु-मेलम्चीघ्याङ, पाल्चोक-ककनी, तिंगाले-ककनी, सेर्माथान-पाल्चोक भगवती, निन्देश्वरी महाकाल-आमायांग्रीजस्ता दर्जन पदमार्ग मर्मतको कामसमेत भइरहेको छ । 


साविक हेलम्बु गाविसको सुरुआती बिन्दुबाटै पर्यटक रमाउन थाल्छन् । ‘किउलको हरियो खेतमा लगाइएको धान र फाँटले नै पर्यटकलाई सुरुमै रोमाञ्चकता दिलाउँछ’, स्थानीय छिरिङ लामा भन्छन्, ‘बगरमा ट्राउट माछाको स्वाद लिएपछि मेलम्चीघ्याङ, तार्केघ्याङ हुँदै आमायांग्री महादेव पाइला हेरेर आनन्द लिएपछि सानो स्वर्गमा पुगेका अनुभव पर्यटकले गर्न सक्छन् ।’ 


ह्योल्मो जातिको पहिचान गुम्बा, गुफा र मन्दिर भएकाले हेलम्बु आउनेको संख्या बढेको छ । पर्यटक आउने क्रम बढिरहेकाले किउल, हेलम्बु भेगका होटल, रिसोर्ट भरिन थालेको भण्डारी रिसोर्टका सञ्चालक उत्तममणि भण्डारी सुनाउँछन् ।


‘भूकम्पपछि सुस्ताएको पर्यटन फेरि उठ्न थाल्यो । दिनकै धेरैको संख्यामा आउने पर्यटकले यहाँको रिसोर्ट बुकिङ बढ्न थालेको छ,’ भण्डारीले भने । 

 

पूरा हेलम्बुको सुन्दरताबारे जानकारी पाएर यहाँ आइपुगेका पर्यटक बास बस्न किउल झर्ने गरेको उनको भनाइ छ । ‘किउलदेखिका माथिल्ला स्थानमा होटल बन्ने क्रममा छन् । होेटल नबन्दा बासको समस्या टार्न उनीहरू तलतिर झर्ने गरेका छन्,’ उनले भने । पर्यटकीय बस्तीका होमस्टे र कला-संस्कृतिका कारणले पर्यटक लोभिदै हेलम्बु धाउने गरेको उनको बुझाइ छ । 

 

गाउँपालिकाको पहलमा पूर्वाधारको योजनालाई सकेपछि पर्यटककै कारण स्थानीयले रोजगारी पाइरहेको यहाँका राजकुमार भण्डारी बताउँछन् । ‘धार्मिक र प्राकृतिक सम्पदाले पर्यटक तानिन थालेका छन्,’ उनले भने ।

 

हेलम्बुको सुन्दरताबारे जानकारहरू भने कम्तीमा साता दिनको प्याकेज लिएर विभिन्न स्थानमा पदयात्रा गर्ने गर्छन् ।