close

राष्ट्रिय परिचयपत्र विवरण संकलन ताप्लेजुङका सबै स्थानीय तहमा पुर्‍याइँदै 

राष्ट्रिय परिचयपत्र विवरण संकलन ताप्लेजुङका सबै स्थानीय तहमा पुर्‍याइँदै 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- अहिलेसम्म सदरमुकाम केन्द्रित रहेको राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य यही फागुन अन्तिम साताबाट ताप्लेजुङका सबै स्थानीय तहमा पुर्‍याइने भएको छ । 

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार यहाँका सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरूसँग सामूहिक छलफल गर्दै विवरण संकलनमा सहयोग मागेको हो ।

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले राष्ट्रिय परिचयपत्र विवण संकलनका लागि सरकारले अर्को कार्यक्रम र बजेट खर्च नगर्ने स्पष्ट पार्दै एउटै मौकामा आफ्नो विवरण भर्न सबैलाई आग्रह गरे । 

 

‘राष्ट्रिय परिचयपत्र नागरिकता, मतदाता नामावली र अन्य राष्ट्रिय महत्त्वका तथ्यांक तथा जानकारीसमेत समेटिएको पूर्ण पत्र भएकाले विवरण संकलनमा कोही पनि छुट्नुहुन्न’, उनले भने ।

 

सरकारले राष्ट्रिय परिचयपत्रलाइ नेपाली नागरिकको पूर्ण जानकारीसहितको विवरणको रूपमा हेरी सोहीअनुसारको तथ्यांक संकलन गरिरहेकाले स्थानीय तहका जनप्रतिनिधिले आम नागरिकलाई यसको महत्त्व बुझाउँदै परिचयपत्रका विवरण भर्न उत्साहित गर्नुपर्ने बस्नेतले बताए ।

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले संकलन गरिएका नागरिकका विवरण निर्वाचन प्रयोजनका लागि एवं मतदाता नामावली र परिचयपत्रलाई मतदाता परिचयपत्रको रूपमा प्रयोग गर्न सकिने गरी बनाउने तयारी भरहेको जानकारी दिए ।

 

सरकारी तथा निजी क्षेत्रबाट प्रदान गरिने सबै प्रकारका सेवामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागिएकाले पनि यो प्रत्येक नेपालीका लागि अनिवार्य हुने उनको भनाइ छ । 

 

यो आर्थिक वर्षमा करिब १ करोड मानिसको विवरण राष्ट्रिय परिचयपत्र कार्यका लागि संकलन गर्ने योजना रहे पनि कोरोना संक्रमणलगायतका कारण करिब ७० देखि ८० लाख नागरिकको विवरण मात्र भर्न सकिने विभागको मध्यावधि समीक्षाको नतिजा रहेको जानकारी दिए ।

 

ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र विवरण संकलन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म १ हजार ३ सय ५२ पुरुष र १ हजार १० महिला गरी २ हजार ३ सय ६२ जनाले राष्ट्रिय परिचयपत्र विवरण भरेका छन् ।


फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु गर्ने कार्ययोजना तयार भएको विभागका निर्देशक उपाध्यायले बताए । 

 

विवरण संकलन कार्य प्रत्येक वडामा गरिनेछ । विभागका अनुसार वडाभित्रको जनसंख्याको आकारअनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण संकलन स्टेसन तोकिनेछ । 

 

एउटा स्टेसनबाट दैनिक न्यूनतम ४० जनासम्मको विवरण संकलन गर्ने विभागको तयारी छ । विभागले स्थानको उपलब्धता र नागरिकको सुविधालाई ध्यानमा राखी विवरण संकलन स्टेसन एकै स्थान वा फरक-फरक स्थानमा राख्ने भन्ने निर्णय स्थानीय स्तरमा गर्ने जनाएको छ ।

 

वडा स्तरमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुनेसमेत विभागले जनाएको छ ।

 

कार्यक्रममा सबै स्थानीय तहका प्रमुखहरूले राष्ट्रिय परिचयपत्र विवरण संकलनमा स्थानीय तहबाट सक्दो सहयोग पुग्ने विश्वास दिलाए । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले राष्ट्रिय महत्त्वको महान् पर्वझैँ भएकाले यो अभियान सफल बनाउनु स्थानीय तहको प्रमुख उपलब्धि हुने बताए ।