close

सामुदायिक विद्यालयमा अर्गानिक क्यान्टिन, सित्तैमा खाना

सामुदायिक विद्यालयमा अर्गानिक क्यान्टिन, सित्तैमा खाना

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाकै सबैभन्दा दुर्गम गाउँ खिजेदेम्बा गाउँपालिका वडा नम्बर ९ दोराखर्कस्थित जनता आधारभूत विद्यालयमा अर्गानिक क्यान्टिन स्थापना गरिएको छ । विद्यार्थी र शिक्षकलाई अर्गानिक खाना खुवाउन क्यान्टिन स्थापना भएको हो । 


विद्यालयमा २ फागुन दिउँसो विद्यार्थी, शिक्षक र अभिभावको जमघट थियो । सबै प्रफुल्ल देखिन्थे । यसरी उनीहरूको अनुहारमा खुसी ल्याउने विषय भने विद्यालयमा दाताको सहयोगमा स्थापना गरिएको क्यान्टिन थियो, जहाँ विद्यार्थी र शिक्षकलाई निःशुल्क खानाको व्यवस्था गरिएको थियो । 


समाजसेवी पेम्बा शेर्पाको नेतृत्वमा स्थापित सामाजिक संस्था एसेन्ट एड नेपालले विद्यालयमा क्यान्टिन निर्माणदेखि निःशुल्क खानाको समेत व्यवस्था गरेको हो । 

 

आइतबारबाट क्यान्टिन सुचारु भएको छ । विद्यालयका ८ जना शिक्षक र ९७ जना विद्यार्थीलाई निःशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था गरिएको छ । एसेन्ट एड नेपालका अध्यक्ष पेम्बा शेर्पा र सचिव पासाङ शेर्पाले दातासँगबाट सहयोग जुटाएर क्यान्टिन सुरु गरेका हुन् । 

 

क्यान्टिनमा जंकफुड (पत्रु) खानालाई पूर्ण रूपमा रोक लगाएर स्थानीय स्तरमै उब्जाएको स्थानीय खाद्यवस्तुलाई प्राथमिकता दिइने अध्यक्ष शेर्पाले बताए ।

 

विद्यार्थी र शिक्षकलाई निःशुल्क खाना खुवाउने गरि क्यान्टिन स्थापना गरिएको जिल्लाकै पहिलो सामुदायिक विद्यालय हो । 


स्थानीय स्रोत-साधनलाई प्रयोगमा ल्याउनुको मुख्य कारण यहाँका शिक्षक विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै स्थानीय उत्पादनको बिक्री वितरण बढाउनु रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य सार्की शेर्पाले जानकारी दिए । 

 

विद्यालयमा निःशुल्क खाना तथा खाजाको व्यवस्था भएपछि अभिभावकसमेत खुसी भएका छन् ।