close

पाँचथरका पाँच स्थानीय तहमा पर्यटन साझेदारी

पाँचथरका पाँच स्थानीय तहमा पर्यटन साझेदारी

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथरका पाँच स्थानीय तहसँग संघीय सरकारले पर्यटन पूर्वाधार निर्माणमा साझेदारी गर्ने भएको छ । पर्यटन पूर्वाधार निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गर्न लागेको हो ।


मन्त्रालयले जारी गरेको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारीसम्बन्धी सूचनामा पाँचथरका फिदिम नगरपालिका, याङवरक तथा फालेलुङ गाउँपालिकासँग साझेदारी गर्न लागेको उल्लेख छ । त्यस्तै हिलिहाङ र कुम्मायक गाउँपालिकासँग पनि मन्त्रालयले पर्यटन पूर्वाधार साझेदारी गर्न लागेको हो ।


देशभरका २ सय पर्यटकीय स्थलको पूर्वाधार विकास साझेदारी गर्दा पाँचथरका पाँच स्थान परेका हुन् । ती स्थलको पूर्वाधार विकासका लागि १९ करोड ६८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।


अनुमानित लागतमध्ये पर्यटन मन्त्रालयले १३ करोड ५१ लाख रुपैयाँ र बाँकी ६ करोड १७ लाख स्थानीय तहले लगानी गर्नेछन् ।


फिदिम नगरपालिकामा फाल्गुनन्द सर्किटअन्तर्गत शिवालय-देउराली सिँढीमार्ग तथा सर्पेडाँडा महादेव पोखरी लब्रेकुटी-सिलौटी साइकल ट्र्याक निर्माणका लागि ४ करोड ८७ लाखमध्ये मन्त्रालयले ३ करोड १७ लाख छुट्याउने भएको छ । कुम्मायक गाँउपालिकाको कुम्मायक-कुसायक क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका लागि मन्त्रालयले २ करोड ३७ लाख र गाँउपालिकाले १ करोड ३ लाख बजेट छुट्याउने भएका छन् । 

 

यसैगरी याङवरक गाउँपालिको निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षणका लागि मन्त्रालयको ३ करोड ५० लाख  र पालिकाको १ करोड ५० लाख लागत साझेदारी हुने भएको छ । हिलिहाङ गाँउपालिकामा रहेको हिलिहाङ दरबारका लागि  मन्त्रालयबाट ३ करोड ५० लाख बजेट विनियोजन हुने भएको छ भने पालिकाले १ करोड ५० लाख रकम छुट्ट्याउनु पर्ने छ ।

 

यस्तै जिल्लाको फालेलुङ गाउँपालिको तीन सीमाना क्षेत्रमा पर्यटकीय आवास गृह तथा पदमार्ग निर्माणका लागि  मन्त्रालयले ९७ लाख रुपैयाँ  तथा गाउँपालिकाले ४३ लाख  रकम व्यवस्था गर्ने भएका छन् । 


पाँचथरमा पर्यटन साझेदारीका लागि छनोट भएका सबै स्थलहरू महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिइँदै आइएको छ ।