close

हत्याराले कहिले पाउँलान् सजाय ?

हत्याराले कहिले पाउँलान् सजाय ?

Trulli
ADVERTISEMENT

काठमाडौं- काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको बुधबार १५ वर्ष पूरा भएको छ । उनको परिवार हत्यारालाई कारबाहीको माग गर्दै भौतारिएको दशक बढी भइसकेको छ । तर पीडित परिवारले न्यायको प्रत्याभूति गर्न पाएका छैनन् ।

 

हत्यारालाई कारबाही गर्न निकै लामो संघर्ष गरेको पीडित परिवारले अहिलेसम्म न्याय  पाउने आश भने मारेको छैन । 

 

मैनासँगै रिना रसाइली पनि तत्कालीन नेकपा (माओवादी) को ‘जनयुद्ध’ कालमा राज्यबाट मारिएकी थिइन् । उनको परिवारले पनि हालसम्म न्याय पाएको छैन । 


राजधानीमा बुधबार एक कार्यक्रमका बीच रिना-मैना स्मृति दिवस मनाइएको छ । कार्यक्रममा रिना-मैनासँगै तत्कालिन शाही नेपाली सेनाबाट मारिएकी सुभद्रा चौलागाइँ र अन्य द्वन्द्वमा मारिएकालाई पनि सम्झना गरियो ।

 

कार्यक्रममा मैना-रिनाका परिवारले न्याय पाउने आशा जिवित रहेको बताए । रिनाकी बहिनी गीता रसाइलीले मुलुकमा विधिको शासन कायम हुने विश्वास व्यक्त गरिन् । ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय र पीडितले न्याय पाउँछन्’, उनले भनिन् ।

 

मैनाकी आमा देवी सुनारले एक न एक दिन न्याय पाउनेमा विश्वास रहेको बताइन् । ‘छोरीका हत्यारालाई कारबाही माग गर्दै अनेक हन्डर खानुपरे पनि न्याय मिल्ने आशामा छौँ’, उनले भनिन्, ‘अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा दर्ता भएको छ । एक दिन सत्यको विजय हुन्छ । मैले धैर्य भएर कुर्नैपर्छ ।’ 


मैनाको मुद्दामा काभ्रे जिल्ला अदालतबाट अपराध ठहर गरी दोषी सैनिक अधिकृतलाई जन्मकैद सजाय सुनाए पनि निर्णय कार्यान्वयन भएको छैन ।

 

मैनाको परिवार फैसला कार्यान्वयनको मागसहित न्यायको प्रतिक्षामा छ । जिल्ला अदालतले दोषी ठहर गरेका सैनिक अधिकृत पक्राउ परेका छैनन् । उल्टै नेपाली सेनाले २०७४ भदौ २३ मा जिल्ला अदालतको फैसला खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । सो मुद्दा सर्वोच्चमा विचाराधीन छ । 

 

मैनाकी परिवारले अदालतको आदेश सम्मान गर्दै दोषी सैनिक अधिकृतलाई तत्काल पक्राउ गर्न र सर्वोच्च अदालतसमक्ष सेनाले दिएको निवेदन फिर्ता गराउन माग गरेको छ ।
 
हाइलाइट-मैनाको मुद्दामा काभ्रे जिल्ला अदालतबाट अपराध ठहर गरी दोषी सैनिक अधिकृतलाई जन्मकैद सजाय सुनाए पनि निर्णय कार्यान्वयन भएको छैन ।