close

आफ्नै कार्यालय भवन निर्माणमा जुट्यो चाँगुनारायण

आफ्नै कार्यालय भवन निर्माणमा जुट्यो चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले ४१ करोड रुपैयाँ लागतमा वडा नम्बर ५ स्थित घुमाउनेमा सुविधासम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ । 

 

३० रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा बन्ने भवनको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बाँस्तोला, नगर प्रमुखका प्रत्यासी राजाराम खड्काले संयुक्त रूपमा शिलान्यास गरे ।


नगरपालिकाको प्रशासनिक भवन, सेमिनार हल, एमओईसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घरलगायत संरचना निर्माण गरिनेछ ।

 

कुल ४१ करोड ३४ लाख २५ हजार ३ सय ७२ रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनमध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनिक भवन ३ हजार ६ सय ४० स्क्वायरफिटमा ६ तले हुनेछ ।


कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गेलालले चाँगुनारायणभित्र जनताको जग्गा अधिग्रहण गरी निर्माण गरिएको विद्युत् प्राधिकरणको खरिपाटीमा धेरै भवन अलपत्र र खाली रहेकाले तीमध्ये केही भवन नगरपालिकालाई दिँदा राज्यको खर्च घट्न सक्ने बताए । 

 

उपयोग हुन नसकेका संरचनाको उपयोगमा सम्बन्धित निकायले चासो दिनुपर्ने बताउँदै नगरपालिकाको नयाँ भवनले कर्मचारी र सेवाग्रहीलाई सहज हुने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा नगरप्रमुख मिश्रले नगरपालिकाको नयाँ भवनका लागि ६० करोड रुपैयाँको डीपीआर गरे पनि लागत घटाइएको बताउँदै आवास र अतिथिगृहको भवन भने अहिलेको बजेटमा निर्माण नगरी दोस्रो चरणमा निर्माण गरिने जानकारी दिए ।

 

भवनमा ५ सय जनशक्ति अट्ने क्षमताको सेमिनार हल निर्माण हुनेछ भने भवनभित्र नगरका सबै कार्यालयका शाखा सञ्चालन गरिनेछ ।


नगरपालिकामा हाल ठाउँ अभावमा फाइल हराउने गरेका र कर्मचारी भ¥याङमै बसेर काम गर्नुपर्ने अवस्था छ । नगरपालिकाले ३ वटा भवन भाडामा लिँदै काम चलाइरहेको मिश्रले बताए ।