close

डडेलधुराका तन्नेरीको लोभलाग्दो बाख्रापालन (भिडियाे खबर)

डडेलधुराका तन्नेरीको लोभलाग्दो बाख्रापालन (भिडियाे खबर)

ADVERTISEMENT

डडेलधुरा- देशमा रोजगारी नपाएको भन्दै अहिले लाखौँ युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन् । कोही विदेश जाने सोच बनाइरहेका छन् । तर, जो कृषि कर्ममा लागेका छन् । उनीहरूका लागि विदेश नै यही हो ।

 

त्यही दुःख, त्यही परिश्रम गर्दा मनग्ये आम्दानी गरिरहेका छन् । डडेलधुराका सुरेन्द्रबहादुर चन्द यस्तै कृषि कर्म गरेर डडेल्धुराकै नमुना कृषकका रूपमा स्थापित भएका छन् । 

 

डडेलधुरा चारैतिर वनजंगलले घेरिएको जिल्ला हो । यहाँका हरेक बस्ती नजिक वन छन्, जसले गर्दा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । अन्य व्यवसायभन्दा बाख्रापालन सजिलो भएकाले कृषकले बाख्रापालन निकै आम्दानी गर्न थालेका छन् । 

 

यसको गतिलो उदाहरण बनेका छन्, सुरेन्द्रबहादुर चन्द । अजयमेरु गाउँपालिका वडा नम्बर ३ मगराउँका ३७ वर्षीय चन्दले ६ वर्षअगाडिबाट बाख्रापालन व्यवसाय  सुरु गरेका हुन् । अहिले चन्दले व्यवस्थित रूपमा फार्म नै दर्ता गरेर आधुनिक खोरमा ५२ वटा बाख्रा पालेका छन् ।

 

मिलन पोल्ट्री तथा बाख्रापालन फार्म हेर्न पनि अहिले छिमेकी बैतडी, बझाङ, दार्चुलालगायतका कृषक आउने गरेका छन् । व्यावसायिक बाख्रापालनबाट वार्षिक बैंक ब्याज तथा ३ जना छोराको पढाइ र घर खर्च कटाएर २  लाख रुपैयाँ आम्दानी गर्दै बाख्रापालक किसान सुरेन्द्रबहादुर चन्द बताउँछन् । 


बाख्रापालन गर्न चन्दले अहिले २८ रोपनी गहुँ तथा मकै खेती हुने जमिनमा विभिन्न जातका घाँस लगाएका छन् । बाख्रालाई चरन क्षेत्र प्राप्त भएपनि भिटामिन भएको घाँस तथा बधुवा प्रणालीमा बाख्रापालन गर्न घाँस खेती सुरुआत गरेको चन्दले जानकारी दिए ।


दुवै जना मिलेर बाख्राको गोठालो जाने गरेको चन्दकी श्रीमती हेमा चन्द बताउँछिन् ।

 

केही वर्ष पहिलेसम्म मासुका लागि खसीबोका आयात हुने डडेलधुराबाट अहिले भने खसीबोका निर्यात हुने गरेको छ । युवामा इच्छाशक्ति दरिलो भए हाम्रो भूमिमा राम्रो आम्दानी गर्न सकिन्छ । सम्बन्धित निकायले पनि युवा व्यवसायीलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउन आवश्यक छ ।