close

महिलालाई आत्मनिर्भर बनाउँदै नमोबुद्ध 

महिलालाई आत्मनिर्भर बनाउँदै नमोबुद्ध 

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप सिकाएर आत्भनिर्भर बनाउने अभियानअन्तर्गत ५ दिने सीप विकास तालिम सुरु गरेको छ । बिहीबार नमोबुद्धको वडा नम्बर ११ स्थित एकल महिला भवनमा ५ दिने सीप विकास तालिम सुरु गरिएको हो ।

 

तालिमको नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे । तालिम उद्घाटन गर्दै नगरप्रमुख तिमल्सिनाले उद्यमशीलतालाई रोजगारीसँग जोडेर नगरमा उत्पादित विभिन्न वस्तुलाई ब्रान्डिङ गर्दै आर्थिक विकासको थालनी गरिने बताए । 

 

उनले नगरपालिकामा कृषिजन्य उद्योगलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै महिला उद्यमशीलताका लागि विभिन्न योजना र कार्यविधि तयार पारेर अगाडि बढ्ने बताए । आफूले सिकेका सीपलाई आयआर्जनसँग जोड्न पनि सहभागीलाई उनले आग्रह गरे ।

 

नगरप्रमुख तिमल्सिनाले नगरपालिकामा कोसेली घर स्थापनाको तयारी अघि बढाइएको पनि जानकारी दिए ।


कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङले धेरै महिलाले सीप नहुँदा समस्या भोग्नुपरेकाले त्यसको अन्त्य गर्दै आत्मनिर्भर बनाउन तालिम सुरु गरिएको बताइन् । महिलाका लागि नगरपालिकाले यसअघि पनि आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । 

 

त्यसका लागि महिलाले उत्पादन गरेका विभिन्न सामग्रीको बजार व्यवस्थापन गर्न थालिएको उपप्रमुख गुरुङले बताइन् ।

 

‘महिला आफ्नो खुट्टामा उभिन सके आफ्नो खर्चका लागि कसैको भर पर्नुपर्दैन’, उनले भनिन्, ‘त्यसका लागि नगरपालिकाले एक वडा एक उद्यमी अभियान सुरु गरेको छ ।’

 


कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप विकास गर्न सके आयआर्जन बढ्ने र आयआर्जन बढ्दा आत्मनिर्भर भइने बताए । जानेको सीपलाई आयआर्जनमा रुपान्तरण गर्नुपर्ने र व्यवसायिक रुप दिँदा आर्थिक विकासमा टेवा पुग्ने पौडेलको भनाइ छ ।

 

नमोबुद्धको वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले तालिमबाट सिकेका कुरालाई व्यवहारमै उतार्न सहभागीलाई आग्रह गरे । 

 

तालिममा नगरपालिकाको वडा नम्बर १, ७, ८, ९, १० र ११ गरी ६ वटा वडाका ३० बढी महिलाको सहभागिता छ । उनीहरूलाई लप्सीको अचार, क्यान्डीलगायत परिकार बनाउन सिकाइने नगरपालिकाको महिला, बालबालिका शाखा प्रमुख तारा सुनुवारले जानकारी दिइन् ।

 

तालिममा नगर उपप्रमुख रामदेवी तामाङ तथा लीला राईले प्रशिक्षण दिनेछन् ।