close

बाहुनीडाँडा कदुवामा दूधकोसीको पानी छ्यालब्याल 

बाहुनीडाँडा कदुवामा दूधकोसीको पानी छ्यालब्याल 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडा कदुवाका स्थानीयले दूधकोसीको पानी लिफ्टिङ गरेरै गाउँ पुर्‍याएका छन् ।

 

घरायसी प्रयोजनदेखि तरकारी खेतीका आवश्यक पानीको व्यवस्थापन गर्न करिब १ हजार ७ सय ९० मिटरमाथिको थामडाँडामा दूधकोसीको पानी निकालिएको हो ।


दूधकोसीको सान्ने दोभानबाट २० किलोवाट क्षमताको सोलार प्रयोग गरेर गाउँमा पानी निकालिएको उपभोक्ता समितिका कोषाध्यक्ष चन्द्रबहादुर कार्कीले बताए । 


नदीको पानी ७ सय २५ मिटरमाथि निर्माण गरिएको पहिलो पोखरीमा जम्मा गरेर पुनः त्यहाँबाट तानेर थामडाँडाको दोस्रो पोखरीमा निकालिएको छ । न

 

दीको पानी गाउँमा निकाल्न सर्वोच्च अदालतमा कार्यरत वकिल जगतबहादुर कार्कीको प्रमुख योगदान रहेको उपभोक्ता समितिका कोषाध्यक्ष कार्कीले सुनाए ।

 

विशेषगरी प्रल्हाद कार्की र तिलक कार्कीको कुखुरा फार्म, कमल कार्कीको बाख्रा फार्म र चन्द्र कार्कीको कागतीको खेतीका लागि आवश्यक सिँचाइको व्यवस्थाप गर्न दूधकोसीको पानी तान्ने विकल्प अघि सारिएको हो । 

 

सुक्खाग्रस्त कदुवामा पानी ल्याउने कुनै स्रोतको विकल्प नभएकाले नदीको पानी निकालिएको स्थानीय फौदसिं कार्कीले जानकारी दिए । 


गाउँमा निकालिएको पानी कदुवाका स्थानीयले पिउन उपयोग गरिरहेका छन् । गत २९ माघ बिहान साढे ९ देखि दिउँसो ३ बजेसम्म प्रतिघन्टा ४ हजार लिटरका दरले पानी गाउँमा निकाल्ने गरिएको छ ।

 

उपभोक्ता समितिका अध्यक्ष निरकुमार कार्की, उपाध्यक्ष कमलबहादुर कार्की, सचिव तिलक कार्की, कोषाध्यक्ष चन्द्रबहादुर कार्की, सदस्य प्रल्हाद कार्की, विदुर कार्की, सन्तोष प्रधानलगायतको करिब ४५ लाख रुपैयाँको खर्चमा गाउँमा पानी निकालिएको हो । 


लिफ्टिङ योजनाको ट्यांकी निर्माणलगायत कतिपय काम अझै बाँकी छन् । नेपाल ऊर्जा विकासले लिफ्टिङ योजनाको सोलार जडान, पम्प जडानको जिम्मा लिएको हो । 

 

३० लाख रुपैयाँमा लिफ्टिङको काम पूरा गर्ने योजना बनाइए पनि अनुमान गरिएभन्दा बढी खर्च भएको कोषाध्यक्ष कार्कीले बताए । 


लिफ्टिङ योजना सफल बनाउन कदुवाका करिब ८० घर स्थानीयले श्रमदान गरेका थिए । श्रमदानबापत उनीहरूले हाल नदीको पानी उपयोग गर्ने अवसर पाएका छन् । 

 

लिफ्टिङ गरिएको पानी स्थानीय मालिकादेवी माविलाई पनि उपलब्ध गराइएको छ । ‘अहिले गाउँमा सिँचाइ भएको छ । गाउँलेले पनि पानी उपयोग गर्न पाएका छन्,’ कोषाध्यक्ष कार्कीले भने, ‘अहिले १ घन्टामा कम्तीमा ४ हजार लिटर पानी गाउँमा निस्किरहेको छ । योजनाका लागि गाउँलेले श्रमदान गरेर सहयोग गरे । अहिले हामीले पानी दिएर सहयोग गरिरहेका छौँ ।’ 


काकाकुल ठाउँमा नदीको पानी निस्कँदा स्थानीयलाई केही राहत मिलेको छ । हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी निकाल्न हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम भइरहेको अवस्थामा कदुवाका स्थानीयले आफ्नै पहलमा नदीको पानी निकालेका हुन् ।