close

सरकारकाे प्राथमिकतामा निशान मौलो याङबरक पोखरी क्षेत्र 

सरकारकाे प्राथमिकतामा निशान मौलो याङबरक पोखरी क्षेत्र 

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथरको उत्तरी याङवरक गाँउपालिकाको केन्द्र थर्पु बजार पुगेका पाहुनालाई नजिकै कहाँ घुमाउन लैजाने भन्ने प्रश्नको उत्तर आउँछ, निशान मौलो याङबरक पोखरी क्षेत्र । थर्पु बजारदेखि नजिकै रहेको यो ठाउँ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रूपले महत्वपूर्ण छ । 

 

याङवरक गाँउपालिका-४ स्थित यो क्षेत्रलाई परम्परागत मौलो, ऐतिहासिक निशान, कालिका धाम तथा याङवरक पोखरीले विशेष महत्वपूर्ण बनाएको हो । त्यस्तै हिमाली दृश्य, कलात्मक धारा लगायतका संरचनाले यो ठाउँको सुन्दरता र महत्वलाई विशेष बनाएको छ । 

 

नेपाल एकीकरण हुनु पहिलेको इतिहास यस क्षेत्रले बोकेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा लिम्बुवानसँग यही क्षेत्रमा सम्झौता गरेको विश्वास गरिन्छ ।

 

यस क्षेत्रको विकास गर्न तीन वटै तहका सरकारले तदारुकता देखाएका छन् । विशेषगरी गाउँपालिकाले गुरुयोजना बनाएर यो क्षेत्रको विकासमा लागेको छ । पालिकाले मन्दिर व्यवस्थापनका लागि १८ लाखमा ठेक्का सम्झौता गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रोहणी आचार्यले जानकारी दिए । 

 

त्यस्तै संघीय सरकारको पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग ३० प्रतिशत साझेदारी गर्ने गरी ३ करोड ५० लाख बजेट विनियोजन गरिसकेको छ । यस क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट खर्च गरिसकेको छ ।

 

यसैगरी निजी क्षेत्रले पनि यस क्षेत्रको पूर्वाधार विकासमा चासो देखाएको छ । 

 

‘यो क्षेत्र ऐतिहासिक, धार्मिक रूपमा पनि महत्वपूर्ण छ’, याङवरक-४ का वडाध्यक्ष सहरनन्द योङहाङले भने, ‘यस क्षेत्रको विकासमा हामी अहोरात्र खटिरहेका छौँ ।’ उनले यस क्षेत्रको संरक्षण तथा विकासका लागि पूर्वाधार निर्माणका काम भएइरहेको बताए ।

 

यस क्षेत्रमा ग्रामीण लिम्बू बस्तीको बाहुल्यता भएकाले होमस्टेको विकास गर्न सकिने वडाध्यक्ष योङहाङले बताए । होमस्टेको समेत व्यवस्था गर्न सके स्थानीयको आयमा अझ वृद्धि हुने उनको भनाइ छ ।