close

चौँरी हेर्न पर्यटक बोलाउँदै अन्नपूर्ण 

चौँरी हेर्न पर्यटक बोलाउँदै अन्नपूर्ण 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले खोपारा, बयली, पाउद्वार, किन्दुमा गरिएको चौँरीपालनलाई पर्यटक भित्र्याउने माध्यम बनाएको छ । परम्परागत चौँरीपालन आयआर्जनको साथै पाहुना भित्र्याउने माध्यम बनेको हो । 


अन्नपूर्णको वडा नम्बर ५ खोपारा, खयर, बयली, डाँडाखर्कलगायत बराहशिखर हिमाल फेदीको बुकीमा ३ वटा फार्मले ४ सय बढी चौँरी पालेका छन् । म्याग्दीमा यो ठाउँमा मात्र चाँैरीपालन हुने गरेको छ । 


सामाजिक अभियन्ता डा. महावीर पुनको अगुवाइमा पाउद्वार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन २०५८ देखि खोपारा क्षेत्रमा व्यावसायिक चौँरीपालन गरिएको छ ।


परम्परागत चौँरीपालनलाई पर्यटन र गाउँलेको आयआर्जन सुधारसँग जोड्ने प्रयास गरिएको गाउँपालिका उपाध्यक्ष केशमाया मगरले बताइन् । 

पर्यटक आकर्षित गर्न राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारको आयोजनामा ५ देखि १० फागुनसम्म प्रथम चौँरी महोत्सव सञ्चालन भएको छ । 


चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौरीको महत्त्व र स्थानीय पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए । 


लेकका चरन क्षेत्रमा हिउँ परेपछि पाउद्वार गाउँको नजिकै लरेनीमा झारिएका चौँरी अवलोकनका लागि स्थानीयले पाहुना बोलाएका छन् । कोरोनाका कारण थलिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि महोत्सवले सहयोग गर्ने अपेक्षा छ । 


महोत्सवमा कृषक र विज्ञहरूबीच चौँरीको महत्त्व, समस्या, व्यावसायिक सम्भावना र कृषकको आवश्यकताबारे छलफल गरियो । स्थानीय मगर संस्कृतिमा आधारित पुख्र्याैली, सोरठी, कौरा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आकर्षण हो । 

अनुकूल हावापानी र भूगोल भएको अन्नपूर्णलाई सरकारले चौँरी स्रोत केन्द्रको रूपमा विकास गर्न कार्यक्रम लागू गरेको राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन केन्द्रका पशु विकास अधिकृत खगेन्द्रराज भट्टले बताए ।


प्राकृतिक हिसाबले सुन्दर यस क्षेत्रमा पालिएका चौँरी र भेडागोठले पर्यटक आकर्षित गराएको छ । पशु बिमाको सुविधामा पहुँच विस्तारसँगै चौँरीको नश्ल, गोठ सुधार, व्यावसायिक उत्पादन, उत्पादनको विविधीकरण र बजारीकरणमा जोड दिन आवश्यक छ । चितुवाको आक्रमण, चरन क्षेत्र अभाव र रोगको महामारी चाँैरीपालनको चुनौती बनेको छ ।