close

पूर्वाधारमा शिवालयको फड्को

पूर्वाधारमा शिवालयको फड्को

Trulli
ADVERTISEMENT

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको पश्चिममा अवस्थित शिवालय गाउँपालिकामा तीन वर्ष पहिलेसम्म पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ ।

 

गाउँपालिकालाई छेडागाड-कोचाली सडक सञ्चालले जोडेको छ । सो सडक खण्डलाई कालोपत्रे गर्ने कामको सुरु भइसकेको छ । यो सडक मध्य पहाडी लोकमार्गमा जोड्ने गरी केन्द्रीय योजना अन्तर्गत चालु अवस्थामा रहेको छ । 

 

शिवालय गाउँपालिकाले आफ्नो कार्यालय भवन, सभाहल लगायत सबै विषयगत शाखाहरूको कार्यालयहरू व्यवस्थापन गरिसकेको छ । सुरक्षा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालयको भवन निर्माण पनि सम्पन्न गरेको छ । गाउँपालिकाका सबै वडाहरू सडक सञ्जालसँग जोड्न ट्रयाक खोल्ने काम सम्पन्न भई साना सवारीसाधनहरूको आवतजावत सुरु भइसकेको छ ।

 

गाउँपालिकाको कामलाई व्यवस्थित बनाउन पाँच वर्षे आवधिक योजना निर्माण, अत्यावश्यक कार्यविधिहरूको निर्माण तथा नीति तर्जुमा गर्ने काम पूरा भएको छ ।

 

गाउँपालिकामा रहेको शिवालय क्षेत्र लगायत सबै वडाहरूमा विद्युत पुर्‍याउन पोल राख्ने र तार जोड्ने काम द्रुत गतिमा भइरहेको छ । खानेपानीको व्यवस्थापनका लागि आवश्यक ट्याङ्कीको निर्माण गरी धाराहरू वितरण गर्ने कार्य जारी रहेको छ । पालिकाले एक घर एक धारा निर्माण अभियानलाई तीव्र पारेको छ । 

 

शिवालय गाउँपालिकाको क्षेत्रमा नेपाल टेलिकमको दुई वटा टावर निर्माण कार्य सुरु गरिएको छ भने कृषि उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाउने प्रयासहरू अगाडी बढाइएको छ । खाद्य सुरक्षालाई ध्यानमा राखेर उन्नत खालको बीउबिजनको प्रयोग, भैँसीपालन, गाईपालन, कुखुरापालनलाई व्यवसायिक बनाउने प्रयासहरू भइरहेका छन् । 

 

शिक्षा क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण गर्ने र शिक्षकहरूको दरबन्दी मिलान गर्ने काम भइरहेका छन् । यससँगै शिक्षाको गुणस्तर सुधारका प्रयासहरू निरन्तर भइरहेका छन् ।

 

पालिकाको भवनसँगै स्थानीय समुदायमा आधारित कार्य सञ्जाल संस्था पश्चिम जाजरकोट विकास समाजको भव्य भवन यस गाउँपालिकाकै साझेदारीमा निर्माण सम्पन्न भएको छ । यस संस्थामा आबद्ध रहेका सामुदायिक समूहहरू, मूल समिति र संस्थामा आबद्ध सीमान्तकृत समुदायका मानिसहरू यसबाट लाभान्वित भएका छन् । 

 

गाउँपालिकामा आर्थिक क्रियाकलाप पनि द्रुत भएको छ । शिवालयमा सिभिल बैंकको शाखा खुलेको छ भने दर्जनौँ साना-ठुला व्यवसायिक पसलहरू खुलेका छन् ।

 

गाउँपालिकाबासी यस किसिमको पूर्वाधार विकासबाट सन्तुष्ट देखिन्छन् । वडा नम्बर ८ जुँगाथापाचौरकी चन्द्रिका बुढा जनप्रतिनिधिहरूले पूर्वाधार विकासमा देखाएको तदारुकतामा खुशी छिन् । ‘शिवालय गाउँपालिकामा जनप्रतिनिधिहरू आएपछि अहिले एक खालको क्रान्ति नै भएको छ’, उनी भन्छिन्, ‘बाटो बनाउने र सबै वडाहरू जोड्ने काम तीव्र रूपमा अघि बढेको र कृषि तथा पशु शाखाले यहाँका समुदायको आय आर्जनका क्षेत्रमा महत्वपूर्ण कामहरू सम्पन्न गरेका छन् ।’ 

 

सबै वडामा विस्तार भएको सडक सञ्जालले पालिकाबासीको दैनिक जीवन सहज बन्दै गएको वडा नम्बर ३ राख्माकी संगीता पुन बताउँछिन् । उनले पालिकाले गरेको भौतिक पूर्वाधार निर्माणको प्रसंशा गरिन् ।

 

सडक सञ्जाल विस्तार भएपछि यस क्षेत्रमा उत्पादन हुने भटमास र तरकारीले बजार पाउन थालेका छन् । भविष्यमा व्यवसायिक तरकारी खेती गरी उत्पादित तरकारी बाहिर लैजाने योजना पनि किसानले बनाएका छन् ।

 

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही पालिकाको विकासका लागि अहोरात्र खटिएका देखिन्छन् । उनी योजनाहरूलाई समयमै मूर्त रूप दिन दक्ष प्राविधिकको व्यवस्थासँगै समुदायको चेतना अझै अभिवृद्धि गर्नुपर्ने बताउँछन् ।

 

हरेक योजना निर्माण प्रकृयादेखि त्यसको कार्यान्वयन, उपभोग र संरक्षण गर्ने काममा स्थानीय उपभोक्ताहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहन्छ । अध्यक्ष शाहीका अनुसार जनप्रतिनिधिहरू र कर्मचारीहरूका बीचमा आवश्यक समन्वय पनि महत्वपूर्ण हुन्छ ।


यसरी शिवालय गाउँपालिकाले पूर्वाधार निर्माण कार्य अभियानकै रूपमा अघि बढाएको देखिन्छ । चुस्त टिम तथा सम्पूर्ण क्षेत्रको सहयोग र तदारुकताकै कारण पालिकाले बनाएका योजना समयमै सम्पन्न भएका देखिन्छन् ।

 

स्थानीय समुदायको जीवन सहज अनि समृद्ध बनाउन उद्यमशीलता तथा व्यवसायिकतामा केन्द्रित भएर थप प्रभावकारी कार्यक्रमको तर्जुमा पालिकाले गर्नेमा विश्वास लिन सकिन्छ ।

 

(लेखक भण्डारी सामाजिक अभियन्ता हुन् )