close

बयालपाटा अस्पताललाई स्थानीय तहको आर्थिक सहयोग 

बयालपाटा अस्पताललाई स्थानीय तहको आर्थिक सहयोग 

Trulli
ADVERTISEMENT

अछाम- अछामका स्थानीय तहहरूले बयालपाटा अस्पतालललाई आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् । अस्पतालको दीर्घकालीन सेवाका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न स्थानीय तह सकारात्मक देखिएका हुन् ।

 
विदेशी दातृ निकायको सहयोग कम हुँदै गएपछि अस्पतालले आर्थिक भार खेप्नु परेपछि व्यवस्थापनमा कठिनाइ भएसँगै अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले यसको सहजीकरणको नेतृत्व लिएका थिए ।

 
अस्पतालको आर्थिक अवस्था खस्किएपछि पत्रकार, सामाजिक सञ्जाल, सञ्चार माध्यम, समाजसेवी तथा स्थानीय तहबाटै सहयोग हुनुपर्ने आवाज उठेसँगै प्रजिअ उपाध्यायले पहल लिएका थिए ।

 
जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बयालपाटा अस्पताल दीनदुःखी, गरिब र असहायका लागि भरपर्दो भएकाले यसलाई दिगोपना दिन स्थानीय निकायले पनि अपनत्व लिनुपर्नेमा जोड दिए । 


प्रमुख जिल्ला अधिकारी उपाध्यायले बिहीबार मंगलसेनमा अछामका सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय प्रमुखसँग समन्वय बैठक आयोजना गरी अस्पतालका लागि आर्थिक सहयोग गर्न आग्रह गरेका थिए । 


सोही क्रममा स्थानीय तहका प्रमुखहरूले पनि अस्पतालबाट आर्थिक सहयोग माग भई आए उपलब्ध गराउन सकिने उल्लेख गरे । 


यसअघि बयालपाटा अस्पताललाई साँफेबगर नगरपालिकाले ७५ लाख, चौरपाटी गाउँपालिकाले २५ लाख, मेल्लेखले १० लाख, पूर्वीचौकी गाउँपालिका डोटीले ५ लाख, रामारोशनले ५ लाख, बान्नीगढी जयगढले २० लाख र त्रिवेणी नगरपालिका बाजुराले २२ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका थिए । 


त्यसमध्ये हालसम्म साँफेबगरको २५ लाख रुपैयाँको औषधी खरिद गर्न अनुमति, रामारोशन र पूर्वीचौकीबाट रकम निकासा अन्तिम चरणमा पुगेको प्रतिबद्धताबाहेक अन्य स्थानिय तहबाट अहिलेसम्म रकम निकासा भएको छैन । 


यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट घोषणा भएको ७ करोडमध्ये हालसम्म २ करोड रुपैयाँ मात्र निकासा भएको छ भने अन्य रकम अहिलेसम्म प्राप्त नभएको अस्पतालले जनाएको छ । बयालपाटा अस्पतालले यस क्षेत्रमा सन् २००८ देखि निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ ।