close

बिर्तामोडमा उद्योगीको चुनावः पार्टीपिच्छेका उम्मेदवार

बिर्तामोडमा उद्योगीको चुनावः पार्टीपिच्छेका उम्मेदवार

Trulli
ADVERTISEMENT

झापा- १६ फागुनमा हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि २ प्यानलले उम्मेदवारी सार्वजनिक गरेका छन् । नेकपा, राप्रपाको संयुक्त व्यावसायिक प्यानल र कांग्रेसको लोकतान्त्रिक व्यावसायिक प्यानलले उम्मेदवारी सार्वजनिक गरेका हुन् । पहिलो चरणमा संयुक्त व्यावसायिक प्यानलले उम्मेदवारी सार्वजनिक गरेको हो ।

 

संयुक्त प्यानलले सुवास भट्टराईको नेतृत्वमा उम्मेदवारी सार्वजनिक गरेको छ । संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला विमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेदवारी सार्वजनिक गरिएको छ ।


त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय साह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेदवारी परेको छ ।

 

राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्की रहेका छन् ।

 

लोकतान्त्रिक प्यानलमा संघको आसन्न निर्वाचनका लागि कांग्रेसले प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मेदवारी सार्वजनिक गरेको छ । अध्यक्षमा राजु न्यौपाने, प्रशान्त भण्डारी, पार्वता विमली, बलराम कार्की अध्यक्ष बन्ने लाइनमा थिए । 

 

उनीहरू सबैलाई सहमत गराएर शिवाकोटीलाई अध्यक्षको उम्मेदवार बनाइएको हो । कांग्रेसमा आबद्ध व्यवसायीले संघको निर्वाचनमा लोकतान्त्रिक व्यावसायिक प्यानल बनाएर निर्वाचन लड्दै छन् ।

 

सो प्यानलबाट अध्यक्षमा शिवाकोटी, वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई र महासचिवमा रवीन्द्र भट्टराईको नाम सार्वजनिक गरिएको छ ।


यस्तै, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषध्यक्ष दीपेन्द्र राउत र सह-कोषाध्यक्षमा राधिका चुडाल हुमागाईं उम्मेदवार बन्ने भएका छन् ।

 

खुला सदस्यमा विशाल थापा, सनी गोयल, विकास बस्नेत, दीपक मित्तल, मनोज रौनियार, पुकार बराल, महिला सदस्यमा तिलोत्तमा सिटौला र तुलसा ढकालले उम्मेदवारी दिनेछन् ।

 

निर्वाचन समितिले ६ फागुनमा उम्मेदवारको मनोनयन दर्ताका लागि मिति तय गरेसँगै दुवै पक्षले दर्ता गरिसकेका छन् । यसपालिको निर्वाचनमा ४ हजार ५ सय ३९ मतदाता छन् । यसबाहेक ११ जना पूर्वअध्यक्ष मतदाता रहनेछन् ।


प्रधानमन्त्री ओलीको गृहजिल्लामा नेकपा एक 

 

देशैभरि नेकपा विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप-प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा भने सग्लो भएर चुनावमा होमिएको छ ।

 

दुवै नेकपाले झापाको बिर्तामोड उद्योग वाणिज्य संघ कार्यसमितिको यही १६ फागुनमा हुने निर्वाचनमा साझा उम्मेदवार चयन गरेका हुन् ।


नेकपाका दुवै समूह चुनावमा एकताबद्ध मात्र भएका छैनन्, प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत गठबन्धनमा सामेल गराउन सफल भएका छन् ।

 

नेकपाले सुभाष भट्टराईलाई अध्यक्ष पदको साझा उम्मेदवार घोषणा गरेको छ । कार्यसमितिको अन्य पदमा दुवै नेकपा र राप्रपा समर्थक व्यवसायी उम्मेदवार बनेका छन् । 

 

प्रधानमन्त्री ओलीको गृहजिल्ला भएका कारण झापामा नेकपाले जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको व्यावसायिक चुनावमा कायम राखेको एकताले मुलुकभर सकारात्मक सन्देश प्रवाहित गर्ने चर्चा सुरु भएको छ । 

नेकपाको तर्फबाट अध्यक्षकोे साझा उम्मेदवार चयन भएका भट्टराई विभाजित नेकपामध्येका कुनै पनि समूहमा खुलेर लागेका छैनन् । 

 

यसअघि झापाकै कृषि थोक बजार व्यवस्थापन समिति र जिल्ला सहकारी संघको चुनावमा दुवै नेकपा विभाजित नभईकन साझा उम्मेदवार चयन गर्न सफल भइसकेका छन् ।

 

दुवै संस्थाको चुनावमा नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् ।