close

भारतीय अनुदानमा बन्दै कागेश्वरीको कान्तिभैरव विद्यालय

भारतीय अनुदानमा बन्दै कागेश्वरीको कान्तिभैरव विद्यालय

Trulli
ADVERTISEMENT

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा कागेश्वरी मनोहरा नगरपालिकाको कान्तिभैरव माध्यमिक विद्यालय बन्ने भएको छ । २६ करोड ५८ लाख ६० हजार ७ सय ४१  लागतमा सो विद्यालयको पुनर्निर्माण गर्न लागिएको हो । 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय दूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रूपमा पुनर्निर्माण हुन लागेको विद्यालयको शिलान्यास गरेका थिए । कागेश्वरी नगरपालिका-५, थलीमा पुनर्निर्माण हुन लागेको नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुन लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो ।

 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकोमा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे । ‘सामुदायिक विद्यालयहरूमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर बृद्धिमात्र होइन शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ’, ज्ञवालीले भने ।

 

भारतीय दूतावासकी मिसन उपप्रमुख खम्पाले विद्यालय पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्तिभैरव माध्यमिक विद्यालयको पुनर्निर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने बताइन् ।
 

फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनर्निर्माण हुन लागेको पाँच तले नमूना विद्यालयमा कूल ६० वटा कोठा हुनेछन् । त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि पाँच वटा कोठालगायतका कोठा रहनेछन् ।

 

त्यसैगरी, क्यान्टिन, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा व्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्चको पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन् ।  

 

माघ अन्तिम सातादेखि निर्माण सुरु भएको विद्यालय भवन १५ महिनामा सकिनेछ । ०७२ सालको विनाशकारी भूकम्पले विद्यालय भवनमा क्षति पुगेको थियो । विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलका अनुसार विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।