close

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त, राजेश अहिराज नियुक्त

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त, राजेश अहिराज नियुक्त

Trulli
ADVERTISEMENT

धनुषा- ७१ औं प्रजातन्त्र दिवस अवसरमा प्रदेश २ को अस्थायी मुकाम जनकपुरमा शुक्रबार बिहान प्रभातफेरी निकालिएको छ । प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कार्यालय परिसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन गरियो ।

 

प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र प्राप्तिका लागि ज्यानको आहुति दिने सहिदप्रति उच्च सम्मान व्यक्त गरे ।


जनकपुरको जनकचोकबाट निकालिएको प्रभातफेरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र धनुषा स्काउटमा आबद्ध विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।

 

शुभकामना कायक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, मुख्य न्यायायाधिवक्ता, मुख्यसचिव, सचिव, प्रहरीका उच्च अधिकारीका साथै नागरिक समाजको बाक्लो उपस्थिति थियो ।

 

राष्ट्रपतिले गरिन् पदमुक्त

 

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन् । 

 

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी गराएको हो ।

 

संविधानको धारा १६५ को (ख) मा प्रदेश प्रमुखको पदावधि समाप्त भए वा सोअगावै राष्ट्रपतिलाई पदमुक्त गरे पद रिक्त हुने अवस्था छ ।

 

२०६४ को संविधानसभा निर्वाचनमा बाँकेबाट निर्वाचित सांसद परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । १८ कात्तिक २०७६ मा परियार प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

 

राजेश अहिराज नियुक्त 


प्रदेश २ का प्रमुखमा पत्रकारसमेत रहेका अनुसन्धानकर्ता राजेश अहिराज नियुक्त भएका छन् । 

 

प्रदेश प्रमुख तिलक परियारलाई हटाएलगत्तै राष्ट्रपतिले उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । रौतहटका स्थायी बासिन्दा अहिराज मधेश मिडिया हाउसका अध्यक्षसमेत हुन् ।