दुर्गममा प्राविधिक शिक्षा : प्रविधि हेर्दै, किताब घोक्दै

नेपाली पढाउनेले सिकाउँछन् कम्प्युटर


  • change font
  • change font
  • change font

गोरखा- गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ लापुस्थित कालरात्रि माविमा हाल कक्षा ८ मा पढ्ने करिना सुनारले २ वर्षदेखि कम्प्युटर विषय सिक्दै आएकी छन् ।

 

आधारभूत तहदेखि नै सरकारले प्राविधिक शिक्षाको अवधारणा ल्याएपछि उनले कक्षा ६ बाट विद्यालयमा हरेक दिन ४५ मिनेट कम्प्युटर विषय पढ्न पाएकी हुन् ।


कक्षा ६ र ७ कम्प्युटर विषयमा पनि राम्रै अंक ल्याएर पास गरेकी उनलाई कम्प्युटरबारे सैद्धान्तिक ज्ञान धेरै तर कम्प्युटर चलाउन भने आउँदैन । २ वर्षदेखि कम्प्युटर विषय पढेकी उनलाई किन कम्प्युटर चलाउन आउँदैन ?

 

सुनार लजाउँदै भन्छिन्, ‘हाम्रो स्कुलमा बिजुली छैन । दिउँसो जहिल्यै बत्ती जान्छ अनि कम्प्युटर चलाउन पाउँदैनौँ ।’

 

कम्प्युटर विषयमा कहिल्यै फेल नहुने सोही विद्यालयमा कक्षा ७ मा पढ्ने बेबिराज गुरुङलाई पनि कम्प्युटर चलाउन आउँदैन । ‘हामी सधैँ किताब पढ्छौँ । बिजुली आउँदैन, त्यसैले कम्प्युटर चलाउन पाउँदैनाैँ । कम्प्युटरको विषय बुझेको छु तर चलाउन आउँदैन’, उनी सुनाउँछन् । 


उक्त विद्यालयका सहायक प्रधानाध्यापक सूर्य विश्वकर्माले कम्प्युटर विषय पढाउँछन् तर उनी त्यस विद्यालयमा नेपाली विषय पढाउने जिम्मेवारी पाएका शिक्षक हुन् । 

 

उनलाई पनि खासै कम्प्युटर चलाउन आउँदैन तर विद्यालयमा सरकारले कम्प्युटर विषयको शिक्षक उपलब्ध नगराएपछि बाध्य भएर उनले कम्प्युुटर विषय पढाइरहेका छन् ।

 

‘सरकारले कम्प्युटर विषय पढाऊ भन्छ तर कम्प्युटर शिक्षक दिँदैन । पठनपाठनलाई अगाडि बढाउनैप¥यो । मलाई पनि कम्प्युटर चलाउल अलिअलि मात्रै आउँछ । पढाउनैपर्ने भएपछि जसोतसो काम चलाउँछु,’ उनी भन्छन् ।


सरकारले प्राविधिक शिक्षा पढाउने भने पनि कम्प्युटर शिक्षक छैनन् तर कम्प्युटर भने रहेको उनको भनाइ छ । ‘कम्प्युटर चलाउन सिक्दै÷सिकाऊँ भने बिजुली हुँदैन । प्रयोगात्मक ज्ञान दिन अनुकूल वातावरण छैन, सैद्धान्तिक ज्ञान दिन्छौँ,’ उनले भने ।


सोही वडामा रहेको प्रभातकिरण माविमा भने कम्प्युुटर विषय पढाउने शिक्षक छन् । यहाँ पनि बिजुलीको समस्या उस्तै ।

 
कम्प्युटर विषय लागू भएलगत्तै यहाँ सोलार बत्तीको प्रयोग गरेर प्रयोगात्मक कम्प्युटर ज्ञान दिइने गरिन्थ्यो । तर, सोलार बिग्रिएको १ जर्ष बित्नै लाग्यो । मर्मत गरिएको छैन । त्यस कारण अहिले यहाँका विद्यार्थीहरूले पनि कम्प्युटर चलाउन पाउँदैनन् ।


‘पहिले सोलार थियो । त्यतिबेला नियमित प्रयोगात्मक कम्प्युटर ज्ञान दिन्थ्यौँ । अहिले बिग्रियो । अहिले विद्यालयमा लघुविद्युत् छ । यसले कम्प्युटर चलाउन विद्युत्को भोल्टेज पुग्दैन । अनि कसरी सिकाउनू ?’ प्रभातकिरणका कम्प्युटर शिक्षक वेसबहादुर गुरुङको प्रश्न छ ।


कालरात्रि र प्रभातकिरण मावि उदारहण मात्रै हुन् । घार्चे गाउँपालिकाका अधिकांश विद्यालयमा यस्तै समस्या छ । यो गाउँपालिकामा रहेका २४ विद्यालयमध्ये ८ वटा मावि छन् । 


गाउँपालिका भन्छ : अब योजनासहित अघि बढ्छौँ

 

धार्चे गाउँपालिकाको शिक्षा प्राविधिक शाखाकी प्रमुख मञ्जु पौडेलले यो समस्या समाधान गर्न योजना बनाएर अघि बढ्ने बताइन् । 

 

‘हाम्रो पालिकाका अधिकांश विद्यालयमा कम्प्युटर भए पनि पढाउने शिक्षक छैनन् । । समस्या तत्काल समाधान गर्न हामीसँग कुनै योजना छैन । अब भने आवश्यक योजना बनाएर अघि बढ्छौँ’, पौडेलले भनिन् ।