close

चखेवाभन्ज्याङ-दिक्तेल सडक खण्ड : सडक बन्यो, पुल निर्माणमा अझै अलमल 

चखेवाभन्ज्याङ-दिक्तेल सडक खण्ड : सडक बन्यो, पुल निर्माणमा अझै अलमल 

Trulli
ADVERTISEMENT

खोटाङ- मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभन्ज्याङ-दिक्तेल सडकको १८ किलोमिटर खण्ड कालोपत्रे पूरा भएको छ । खोटाङमा पर्ने चखेवाभन्ज्याङदेखि दिक्तेलसम्मको ४६ किलोमिटर दूरीमध्ये गत आर्थिक वर्ष ९ किलोमिटर र चालू आर्थिक वर्ष ९ किलोमिटर खण्ड कालोपत्रे पूरा भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका डीई नारायणप्रसाद निहुरेले बताए । 


विभिन्न ५ खण्डमा विभाजन गरेर २०७२ चैतदेखि चखेवाभन्ज्याङ-दिक्तेल सडकको विभिन्न खण्डमा कालोपत्रे गर्ने काम थालिएको थियो । चखेवाभन्ज्याङ-दिक्तेल सडकको बाँकी २८ किलोमिटर खण्ड पनि चालू आर्थिक वर्षभित्रै पुरा गर्ने लक्ष्यका साथ काम भइरहेको डीई निहुरेले जानकारी दिए ।


‘४६ किलोमिटरमध्ये गत वर्ष ९ किलोमिटरमा कालोपत्रे भयो । बाँकी ३७ किलोमिटरमध्ये चालू आर्थिक वर्ष ९ किलोमिटरमा कालोपत्रे भएको छ,’ डीई निहुरेले भने, ‘बाँकी २८ किलोमिटरमा कालोपत्रे जारी छ । आगामी आर्थिक वर्ष खोटाङमा पर्ने मध्यपहाडी लोकमार्गले पूर्णता पाउँछ । सोही गतिमा कालोपत्रेको काम भइरहेको छ ।’ 


चखेवाभन्ज्याङ-दिक्तेल सडक खण्डको ५ खण्डमध्ये ४ खण्ड (सेखुवा-दिक्तेल ३६ किलोमिटर) को कालोपत्रे मन-गोल्डेन गुड जेभीले गरिरहेको छ । आगामी वैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको रमन-गोल्डेन गुड जेभीका साइड इन्चार्ज आङसांगे शेर्पाले बताए ।

 

यस्तै, चखेवाभन्ज्याङ-सेखुवा १० किलोमिटर कालोपत्रेको ठेक्का भरतमैनाचुली सिद्धिसाई जेभीले लिएको छ । 

 

मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभन्ज्याङ-दिक्तेल सडक निर्माणमा कम्पनीको ढिलासुस्ती देखिएको छ । मध्यपहाडी लोकमार्ग कालोपत्रेको गति र गुणस्तर सन्तोषजनक नभएको जनगुनासो रहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए ।


अन्य प्याकेजको तुलनामा चखेवाभन्ज्याङ-सेखुवाको काम सुस्त छ । मध्यपहाडी लोकमार्ग तथा त्यहाँ निर्माणाधीन पुलको काममा भइरहेको ढिलासुस्ती तथा गुणस्तरका विषयमा प्रशासनले समेत बेला-बेला चासो देखाउँदै आएको छ । 


सडक बन्यो, पुलको अत्तोपत्तो छैन 

 

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभन्ज्याङ-दिक्तेल सडक खण्डका ३ वटा खोलामा पुल निर्माणको सुरसारै गरिएको छैन । चखेवाभन्ज्याङ-दिक्तेलको दिक्तेल-माम्खा सडक खण्ड कालोपत्रे भइसक्दा सो खण्डका ३ वटा खोलामा निर्माण हुने पुलको अत्तोपत्तो छैन ।

 

दिक्तेल-माम्खा सडक खण्डको भालु खोला, मेवा खोला र छेपे खोलामा हालसम्म पुल बनाउने सुरसार नदेखिएको हो ।

 

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका डीई निहुरेले छेपे खोलाको पुलको डिजाइन स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको तथा भालु खोला र मेवा खोलाको पुलको डिजाइन भइरहेको बताए ।


‘चखेवाभन्ज्याङ-दिक्तेल सडक खण्डमा पर्ने निर्माणाधीन पुलको काम पूरा गर्ने र ३ वटा पुलको ठेक्का लगाउने तयारी भइरहेको छ,’ डीई निहुरेले भने, ‘छेपे खोलाको डिजाइन स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको छ । अन्य २ वटा खोलाको पुल डिजाइन भइरहेको छ । पुलको डिजाइन सम्पन्न गरेर यही वर्ष ठेक्का लगाउने योजना छ ।’ 


यस्तै, माम्खा-दारुला सडक खण्डको सरुवा खोलामा निर्माण गरिने पुलको रि-डिजाइन गरेर स्वीकृत भएको छ । पुरानो डिजाइनअनुसारको पुल बनाउँदा भुलभुले देउधामलाई असर गर्ने देखिएपछि सरुवा खोला पुलको डिजाइनै परिवर्तन गरिएको हो ।

 

रि-डिजाइनका कारण पुल निर्माणको काम झन्डै वर्ष दिन पछि धकेलिएको छ । 


पंखु खोला पुल अलपत्र

 

चखेवाभन्ज्याङ-दिक्तेल सडक खण्डकै दारुला-पेलुङ सडक खण्डको पंखु खोलाको पुल ठेकेदारको कारण अलपत्र अवस्थामा छ । २ करोड २९ लाख रुपैयाँमा सिरुवा कन्स्ट्रक्सनले जिम्मा लिएको पुलको काम २/३ वर्षदेखि नै अलपत्र छ ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ बुवालुङ र लामिडाँडा जोड्ने १५ मिटर लम्बाइको पुलको दायाँ-बायाँ २ वटा पिल्लर उठाउनेबाहेक अरू काम भएको छैन ।

 

पंखु खोला पुलको दोस्रोपल्ट थप भएको म्यादसमेत गत असारमै सकिएको छ । दारुला-पेलुङ सडक खण्डमा पर्ने लप्से खोला र दाम्दे खोला, पेलुङ-सेखुवा सडक खण्डको साप्सु खोलाको पुल भने तयार भइसकेको छ ।