close

नमोबुद्धमा स्टाफ कलेज निर्माण गर्न सार्वजनिक सुनुवाइ

नमोबुद्धमा स्टाफ कलेज निर्माण गर्न सार्वजनिक सुनुवाइ

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ मा निर्माण हुने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आवासीय तालिम केन्द्र निर्माणसम्बन्धी वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइ शुक्रबार सम्पन्न भएको छ । 


नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना प्रमुख अतिथि रहेको कार्यक्रम नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष सञ्जीव ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

उक्त अवसरमा सहभागीले नमोबुद्धमा स्टाफ कलेज निर्माण हुनु सकारात्मक रहेको भन्दै स्थानीयसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । अध्ययन टोलीका संयोजक तेजकुमार श्रेष्ठले स्थानीय वस्तुस्थितिबारे प्रस्तुतीकरण दिएका थिए । 


नगरप्रमुख तिमल्सिनाले नमोबुद्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्टाफ कलेज निर्माण हुनु गौरवको विषय भएको बताए । उनले स्टाफ कलेज निर्माणपछि नगरमा थप पूर्वाधार निर्माण हुने हुँदा यसले नगरको समग्र विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

नमोबुद्धमा युथ इनोभेसन सेन्टर, पाँचखाल नगरपालिका र नमोबुद्धलाई समेटेर मदन भण्डारी विश्वविद्यालय निर्माणलगायत राष्ट्रिय गौरवका योजना अघि बढेको उनले जानकारी दिए । 

 

कार्यक्रममा नमोबुद्धको वडा नम्बर २ का वडाध्यक्ष सञ्जीव ढकालले छिटो स्टाफ कलेज निर्माण प्रक्रिया सुरु होस् भन्ने आफूहरूको चाहना रहेको बताए । 

 

स्टाफ कलेज निर्माणलाई सहयोग गर्न तयार रहेको उनको धारणा छ । स्थानीयका लागि सडक, खानेपानीलगायत विकासका पूर्वाधार निर्माण अघि बढिसकेको जानकारी दिए ।

 

कार्यक्रममा नमोबुद्ध वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले स्टाफ कलेज निर्माणका लागि सँगै अघि बढ्न नगरपालिकाका जनप्रतिनिधि र स्थानीय तयार रहेको विश्वास दिलाए । 

 

कार्यक्रममा स्थानीय ज्ञानेन्द्र देवकोटा, बलबहादुर खड्का, केशवबहादुर आचार्य, चन्द्रमणि तिमल्सिनालगायतले कलेज निर्माण हुनु खुसीको कुरा भए पनि त्यसले स्थानीयलाई लामो समयसम्म फाइदा पुग्ने गरी काम गर्नुपर्ने, खानेपानी, सडक, पूर्वाधारमा जोड दिनुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराए ।

 

नमोबुद्धको वडा नम्बर २ टटलेटरमा निर्माण हुन लागेको स्टाफ कलेजको लागत भ्याटबाहेक ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । 

 

सार्वजनिक सुनुवाइ कार्यक्रममा नमोबुद्धका प्रशासकीय अधिकृत विनोद रसाइली, वातावरण अधिकृत सन्तोष काफ्ले, इन्जिनियर उज्ज्वल अर्याल, स्टाफ कलेज तथा सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिलगायत सहभागी थिए ।