close

आफ्नै माटोमा सुन फलाउँदै हेलम्बुका युवा (भिडियाे खबर)

आफ्नै माटोमा सुन फलाउँदै हेलम्बुका युवा (भिडियाे खबर)

ADVERTISEMENT

सिन्धुपाल्चोक- गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न मात्रै नभई कृषि पेसाबाट गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउन युवाहरू जागरुक बन्न थालेका छन् । कृषिबाटै समृद्धिको सपना देखेका गाउँका शिक्षित युवासमेत कृषि पेसामा आकर्षित बनेको धेरै ठाउँमा देख्न सकिन्छ ।

 

यसको पछिल्लो उदाहरण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवा हुन् । यहाँका युवाले विदेश गएर दुःख पाउनुभन्दा आफ्नै माटोमा सुन फलाउँछु भन्ने ध्येयका साथ करोडौँ लगानी गरेर एग्रिकल्चर फार्मबाट आम्दानी लिन थालेका छन् । 

 

कृषि क्षेत्रको कामलाई आम मानिसले सानो पेसाको रूपमा हेर्ने गरेको पाइन्छ । कृषिमै कामका लागि विदेशिने युवाको संख्या पनि अझै घटेको छैन । तर, सिन्धुपाल्चोक हेलम्बुका शिक्षित युवाले भने बहुउद्देश्य सामूहिक कृषि क्षेत्रमा काम गरेर कृषिमा युवाको कर्मलाई स्थापित गरेका छन् । 

 

हेलम्बु गाउँपालिकाको वडा नम्बर ४ महाँकालका ४१ वर्षका विनोद लामिछाने पेसाले कानुन व्यवसायी हुन् । तर, उनले अधिवक्ताको लाइसेन्स सिरानीमा राख्दै कृषि व्यवसायमा रमाइरहेका छन् । 

 

परियोजनामा कुखुरापालन, बायो ग्यास, मल र अर्गानिक तरकारी एकै ठाउँमा उत्पादन गरिएको बिग एग्रिकल्चर प्रालिका अध्यक्ष विनोद लामिछाने बताउँछन् ।


 
विनोदकै अगुवाइमा ३ वर्षअघि १० जना युवाको लगानीमा सुरु गरिएको कुखुरापालन र च्याउ खेतीले अहिले बहुआयामिक कृषि फार्मको आकार लिएको छ । १२ हजार कुखुराले एकसाथ अन्डा दिन थालेका छन् भने च्याउ र कागती खेती पनि उत्तिकै राम्रो छ ।

 

च्याउको बिउ पनि उनीहरूले आफ्नै प्रयोगशालामा उत्पादन गर्छन् । सिजनमा कन्ये च्याउ खेती र तरकारी बेचेर ३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । फार्ममा उत्पादित च्याउ र अन्डा कालीमाटी तरकारी बजार र सुपरमार्केटमा बिक्री भइरहेको छ ।

 

लगानीकर्ताबाहेक १५ जनाले नियमित रोजगारी पाइरहेको बिग एग्रिकल्चरका महिला लगानीकर्ताको भनाइ छ ।

 

१ सय जना सेयर सदस्य रहने गरी १५ वर्षे परियोजना बनाएर फार्मलाई रिसर्च सेन्टरकै रूपमा अघि बढाउने योजना युवाहरूले बनाएका छन्, जहाँ १ हजार ५ सय  जनासम्मलाई रोजगारी दिने फार्मको लक्ष्य रहेको बिग एग्रिकल्चर प्रालिकी प्राविधिक सुस्मिता लामिछानेले जानकारी गराइन् ।

 

उनीहरूलाई बाग्मती प्रदेशको कृषि निर्देशनालयबाट ९४ लाख रुपैयाँ अनुदानसमेत दिएको छ । उसो त, गाउँपालिकाको कार्यालयले पनि कृषि तथा पशुपालनमा लाग्ने हेलम्बुबासीलाई विभिन्न सहगोग गर्दै आइरहेको छ । गाउँमै उद्यम गर्नेहरू बढाउन काठमाडौंमै पाइने मूल्यमा मलसमेत वितरण गर्ने गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुनाए ।

 

गाउँका शिक्षित युवासमेत कृषि पेसामा लागेर मनग्ये आम्दानी गर्ने मात्रै नभई गाउँका अन्य युवालाई समेत रोजगारी दिन थालेपछि यो फार्म अहिले उदाहरणीय बनेको छ ।