close

सार्वजनिक र गुठीका जग्गा संरक्षण गर्दै सियारी गाउँपालिका

गुठीको जग्गा दुरुपयोगमा मन्दिरका प्रमुख संरक्षक नै संलग्न

सार्वजनिक र गुठीका जग्गा संरक्षण गर्दै सियारी गाउँपालिका

गुठीको जग्गा दुरुपयोगमा मन्दिरका प्रमुख संरक्षक नै संलग्न

Trulli
ADVERTISEMENT

रुपन्देही- रूपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण गर्न सुरु गरेको छ । सबै जग्गाको लगत संकलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुराना गुठीका नाममा रहेको जग्गा संरक्षण गर्न लागेको हो ।

 

गाउँपालिकाको वडा नम्बर ३, भैसाखादरस्थित रामजानकी मन्दिरको नाममा रहेको जग्गामा भू-माफियाले चलखेल गरेपछि पालिकाले समुदायसँग सहकार्य गर्दै जग्गा संरक्षणमा लागेको हो । सो जग्गा करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको गुठी र मन्दिर क्षेत्र मानिने स्थानीयले जनाएका छन् । 

 

वडामा मात्रै गुठी तथा मन्दिरको नाममा करिब ६० विगाहा जमिन रहेको बताइएको छ । सोही जग्गा मन्दिरका प्रमुख संरक्षक भनिएका रवीन्द्रनाथ वैष्णव (झा) को संलग्नता दुरुपयोग हुन थालेको पालिकाले थाहा पाएपछि पछिल्लो कदम चालेको हो ।
  
वैष्णव दोहोरो नागरिकता भएका भारतीय नागरिक रहेको स्थानीयको दाबी छ । उनको भारतको उत्तरप्रदेशस्थित माधवपुरमा समेत घर रहेको छ । उनको त्यहाँको नागरिकता, आधारकार्ड, मतदाता नामावली र नेपालमा लिएको नागरिकताको प्रमाणपत्रसमेत पालिकाले संकलन गरेको गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले बताए । उनले जग्गा संरक्षणका नाममा आफुखुशी गर्ने, लिजमा दिएर समेत गैरकानुनी काम गरेपछि त्यसलाई रोक्न पालिकाले आफ्नो अधिकारको प्रयोग गर्दै संरक्षणमा लागेको अध्यक्ष थारूले बताए । 

 

स्थानीय अगुवाले पालिकाले सुरु गरेको संरक्षण अभियानलाई स्वागत गर्दै  जग्गाको सही सदुपयोग हुनुपर्ने माग गरेका छन् । स्थानीयले सो जग्गालाई पालिकाको वैधानिक आयस्रोतका रूपमा विकास गर्नुपर्ने पनि माग गरेका छन् ।

 

पालिकाले एक विगाहलाई वार्षिक १८ हजार रुपैयाँ मन्दिर व्यवस्थापन समितिमा  बुझाउने गरी गाउँका विपन्नलाई खेती गर्न दिएको छ । करिब २८ विगाह जग्गा समुदायका विपन्न समुदायले वार्षिक रुपमा लिजमा लिएका छन् ।   

 

बाँकी जग्गाको केही भागमा खेती भइरहेको अध्यक्ष थारूले बताए । उनले मठको जग्गा यकिन नभइसकेकाले यकिन गरी संरक्षण गर्ने र इतिहास जोगाउने बताएका छन् । 

 

‘सो मठका महन्त प्रमुख संरक्षक भनिने रविन्द्रदास वैष्णवले गुठीको सम्पत्तिको दुरुपयोग गरे । मन्दिरको विकास गरेनन् मन्दिरको विकास हुन नसक्दा स्थानीयहरू पनि रुष्ट छन्’, अध्यक्ष थारूले भने, ‘राज्यको नीति र कानूनअनुसार सांकृतिक र ऐतिहासिक क्षेत्रको संरक्षण गर्नु पालिकाको दायित्व हो ।’

 

धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न पहल


भैसाखादरमा रहेको रामजानकी मन्दिरलाई लुम्बिनीसँग जोडेर पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् ।

 

मन्दिरको विकासका लागि बजेट विनियोजन गरिएको र मन्दिरको आवश्यक भौतिक पूर्वाधारको विकास गरिने तथा जग्गा संरक्षणका लागि तारवार लागाइने उनको भनाई  छ । 

 

११ सदस्यीय संरक्षण समिति गठन


जग्गा संरक्षणका लागि वडा नम्बर ३ का अध्यक्ष घिसन अहिरको संयोजकत्वका ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको छ ।

 

मठ तथा मन्दिरको सबै सम्पत्ति संरक्षण र सम्बद्र्धन तथा सञ्चालनमा समुुदायको समेत अपनत्व हुने गरी विशेष योजना बनाइने संयोजक अहिरले बताए ।