close

प्यूठानमा २ सय बढी जनप्रतिनिधिले लगाए कोरोनाविरुद्धको खोप

प्यूठानमा २ सय बढी जनप्रतिनिधिले लगाए कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

प्युठान- प्युठानमा दोस्रो चरणको खोप २ सय ५ जना जनप्रतिनिधिसहित १ हजार ९ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

 

सरकारले दोस्रो चरणमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंक कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई खोप दिने व्यवस्था गरेको थियो ।

 

सोहीअनुसार प्युठानमा २ फागुनदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको थियो । अभियानअन्तर्गत प्युठानमा हालसम्म १ हजार ९ सय ७९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । 

 

दोस्रो चरणमा सबैभन्दा बढी निजामती कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लाका ३ सय ५७ जना निजामती कर्मचारीले खोप लगाएका हुन् ।

 

त्यस्तै, स्थानीय तहका कर्मचारी ३ सय २७, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २ सय ६८, शव व्यवस्थापनमा खटिएका तथा अन्य सुरक्षाकर्मी २ सय ६० जना, २ सय २७ जना जनप्रतिनिधि, २ सय ५ जना जनपथ प्रहरी, १ सय ३५ जना प्राधिकरण र संस्थानका कर्मचारी, ६३ जना सशस्त्र प्रहरी, ५५ जना पत्रकारले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

यस्तै, २२ जना न्याय सेवा समूहका कर्मचारी, ९ जना महिला स्वास्थ्य स्वयंसेविका, ३ जना स्वास्थ्य संस्थाका अन्य कर्मचारी एवं १ जना एम्बुलेन्स र शव वाहन चालकले खोप लगाएको स्वास्थ्य प्रमुख सुवेदीले बताए । पहिलो चरणमा छुट भएका ४७ जना स्वास्थ्यकर्मीले पनि दोस्रो चरणमा कोरोना खोप लगाएको उनको भनाइ छ । 


प्युठानमा पहिलो चरणमा कोरोना महामारीको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालकलगायत गरी १ हजार १ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएको अस्पतालले जनाएको छ ।