close

बुटवलमा दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बुटवलमा दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरको नगर खेलकुद विकास समितिको आयोजनामा दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।

उपमहानगरको वडा नम्बर ११ एन्फा एकेडेमी कम्प्लेक्स तथा मैदानमा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले उक्त प्रतियोगिताको शुभारम्भ गरे । बुटवल उपमहानगरको नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता १० फागुनसम्म चल्नेछ । 


उद्घाटन अवसरमा प्रमुख सुवेदीले उपमहानगरले खेलकुद क्षेत्रलाई समृद्धिकै आधारका रूपमा लिएर सोहीअनुरूप महत्त्व दिएको बताए ।  पूर्वाधार विकासदेखि खेलाडीको पहिचान, प्रतिभा प्रस्फुटनदेखि दक्ष प्रशिक्षकको व्यवस्थासम्मका काममा विशेष चासो दिएको उनले जानकारी दिए । 

त्यस अवसरमा उपप्रमुख गुमादेवी आचार्य, सामाजिक विकास समिति प्रमुख सीता थापा आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीलगायतले प्रतियोगिता सफलताको कामना गरे । 

खेलकुदको विकासका लागि उपमहानगरले सुरु गरेको अभियान सकारात्मक रहेकाले त्यसलाई साकार पार्न राजनीतिक दल, निजी क्षेत्र र नागरिक अगुवासँग पनि सहकार्य गर्न जरुरी रहेको सहभागीको जोड थियो ।

उद्घाटन सत्रमा बुटवलका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले विशेष झाँकीसमेत प्रदर्शन गरे । नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कुल २९ वटा विद्यालयका करिब १ हजार ३ सय ३४ जना खेलाडीको सहभागिता रहेको समितिका अध्यक्ष नन्दु काउचाले जानकारी दिए