close

कालिकाेटकाे एउटा विद्यालय जहाँ विद्यार्थीले नै चिन्दैनन् शिक्षक

विद्यालयका अधिकांश शिक्षक खेताला

कालिकाेटकाे एउटा विद्यालय जहाँ विद्यार्थीले नै चिन्दैनन् शिक्षक

विद्यालयका अधिकांश शिक्षक खेताला

Trulli
ADVERTISEMENT

कालीकोट- कविता चौलागाई अहिले १० कक्षा पढ्छिन् । उनी कालीकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ४ मा रहेको महादेव माविमा अध्ययनरत छन् । 


कोरोना महामारीले केही समय विद्यालय नियमित नभए पनि अहिले सञ्चालनमा आइसकेको छ । उनी प्रत्येक दिन विद्यालय त जान्छिन् तर त्यहाँ गएपछि आफूलाई पढाउने शिक्षकको अनुहारसमेत देख्न पाएकी छैनन् 

 

उनी मात्र होइन, महादेव माविमा अध्ययन गर्ने सर्लाहीबाट आएका विक्रम साह रोहनियाले पनि शिक्षकको अनुहार देख्न पाएका छैनन् । 

 

पूर्ण छात्रवृत्तिको कोटाबाट कालीकोटमा आईएसीएजी अध्ययनका लागि आएका साह आफू पढ्ने विद्यालयका प्रधानाध्यापक र शिक्षक को हुन् भन्ने मेसो पाउन नसकेको गुनासो गर्छन् ।

 

उनले भने, ‘सर्लाहीबाट छात्रवृत्तिमा अध्ययन गर्न आएको १ वर्ष भयो । मैले विद्यालयका प्रधानाध्यापक को हुन् भन्नेसम्म पनि थाहा पाएको छैन ।’

 

उसो त, विद्यालयमा नियमित प्रधानाध्यापक र शिक्षक उपस्थित हुने भए आफ्ना शिक्षकको अनुहार विद्यार्थीले हेर्न पाउने थिए । 


कहिलेकाहीँ आउने विद्यालयका प्रधानाध्यापक दुर्गबहादुर शाहीलाई महादेव माविका विद्यार्थीले राम्रोसँग चिनेका पनि छैनन् ।

 

विद्यालयमा नियमित नआउने प्रधानाध्यापक र शिक्षकलाई कसरी सेवा-सुविधा प्रदान गरिन्छ भन्दै महादेव माविका विद्यार्थीले घरका अभिभावकसँग प्रश्न सोध्छन् ।

 

तर, वडाले विद्यालयमा शिक्षक नियमित छन् भनेर हाजिरी प्रमाणित गर्ने गरेको छ । शुभकालिका गाउँपालिकाको महादेव माविमा किडार्क नेपालद्वारा सञ्चालित सहयात्रा परियोजनाले आयोजना गरेको बाल कचहरीमा विद्यार्थीले यस्तो प्रश्न उठाएका थिए । 


बाल कचहरीमा बोल्दै सोही विद्यालयमा अध्ययनरत सुरेन्द्र पाण्डेले प्रायः शिक्षकहरू मद्यपान र धूमपान गर्दै विद्यालय आउने र आए पनि नपढाउने गरेको सुनाए ।

 

महादेव माविमा अध्यापन गराउने अधिकांश शिक्षक मदिरा सेवन गरी विद्यालय आउने गरेका छन् ।

 

२०२० मा स्थापना भएको विद्यालयको अहिलेसम्म पनि स्तरोन्नति नहुनुमा व्यवस्थापन समिति मुख्य दोषी रहेको अभिभावकको गुनासो छ । अहिलेसम्म पनि विद्यालयको गतिलो भवन छैन ।

 

विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको छ । तर, अहिलेसम्म नानीबाबुले कम्प्युटर देख्न पाएका छैनन् । 

 

अधिकांश शिक्षक खेताला

 

महादेव मावि राराकाटियामा अध्यापन गराउने अधिकांश शिक्षक खेताला रहेको पाइएको छ । आफ्नो सट्टामा नजिकका मान्छेलाई राखेर सरकारी सेवा-सुविधा दरबन्दीवाला शिक्षकले लिने गरेका छन् ।

 

महादेव माविमा अध्यापन गराउँदै आएका सामाजिक विषयका शिक्षक सुरेन्द्रबहादुर शाही आफन्त परेकबहादुर शाहीलाई सट्टामा राखेर सुर्खेत बस्दै आएका छन् । 

 

अचम्म के भने शाही विद्यालयमा नियमित आउनु त परै जाओस्, उनले राखेका खेताल शिक्षक पनि नियमित नहुने गरेको विद्यार्थीको गुनासो छ ।

 

शाही मात्र होइन, उक्त विद्यालयमा अध्यापन गराउने शिक्षकले १ महिनाको हाजिरी एकै पटक गरेर सरकारी सेवा-सुविधा लिँदै आएका छन् । 

 

वडा सरकारले तत्काल विद्यालय व्यवस्थापन समितिको बैठक डाकेर यस विषयमा सोधीखोज गर्ने प्रतिबद्धता जनाएको छ ।

 

शुभकालिकाको वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर शाहीले प्रधानाध्यापकलाई तत्काल विद्यालयमा बोलाएर यस विषयमा छलफल गरिने बताए । 

 

पाठ्यपुस्तक पुग्ने कहिले ?

 

शैक्षिक सत्र सुरु भएको ११ महिना पुग्दा पनि अहिलेसम्म विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको बाल कचहरीमा विद्यार्थीले गुनासो गरे ।

 

‘कोरोना महामारीका कारण वैशाखदेखि असोजसम्म विद्यालय बन्द रहे पनि ५ महिनासम्म पुस्तकबिनै पढ्न बाध्य छौँ ।

 

अब पुस्तक हातमा आउला भन्ने आश छैन । वार्षिक परीक्षा पनि आउन थालिसक्यो’, विद्यार्थीहरूको सामूहिक गुनासो छ ।