close

खल्तीमा बैंक : गाउँलेको ८० लाख ठगेर सञ्चालक बेपत्ता

खल्तीमा बैंक : गाउँलेको ८० लाख ठगेर सञ्चालक बेपत्ता

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीमा २ वटा ठूला ठगीका घटना भएका छन् । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ को नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थामा डेढ करोड रुपैयाँ बढी रकम हिनामिना भएको छ ।

 

सहकारीका व्यावस्थापक द्रोर्णचार्य ज्ञवालीले सहकारी रकम हिनामिना गरेका हुन् । यो विषय सञ्चार माध्यम र प्रशासनसम्म आएको छ । तर, सेयर सदस्यको लगानी डुबे-नडुबेको विषय अन्योलमा परेको छ । 

 

त्यस्तै, गुल्मीको घमिरका एक व्यक्तिले गाउँलेको ८० लाख रुपैयाँ ठगेर १ महिनादेखि फरार भएका छन् । ती व्यक्ति मालिका गाउँपालिका वडा नम्बर ७ का हरिनारायण लम्साल हुन् ।

 

उनले करिब ३ वर्षदेखि मेगा बैंकको शाखारहित सेवाको एजेन्टको रूपमा काम सुरु गरेका थिए । लम्सालले बैंकको नाममा नागरिकको विश्वास जितेर व्यक्तिगत रूपमा रकम चलाएर हिनामिना गरेर भागेका हुन् ।

 

अहिले लुकेर परिवारका अन्य सदस्य र पार्टीको संरक्षणमा कसुर लुकाउन खोजेको स्थानीयको आरोप छ । ३ वर्षसम्म लम्सालले बैंक र आफ्नो कम्युनिकेसनको नाममा नागरिकसँग निरन्तर आर्थिक कारोबार गरिरहे । 

 

उनले बैंकमा पैसा राखिदिने भन्दै लम्साल कम्युनिकेसनको नाममा आवश्य परे भौचर र कसैलाई मौखिक रूपमा सहमत गराएर गाउँलेलाई ठग्दै आएको खुलासा भएको छ । 


मालिका गाउँपालिका वडा नम्बर ७ घमिरकी जमुना लम्साल सबैभन्दा बढी ठगिएकी छन् । उनले ४ पटक गरेर मुद्दती खातामा साढे १२ लाख रुपैयाँ रकम जम्मा गरिन् । उनका पति निमबहादुर लम्सालले पनि ३ लाख ३५ हजार रुपैयाँ मुद्दतीमा जम्मा गरे ।

 

अहिले रकम आवश्यक परेर निकाल्न खोज्दा खातामा पैसा नभएपछि आफूहरू ठगिएको पत्तो पाएको पीडित लम्सालले बताइन् । आफ्नै घरमा मेडिकल राखेर शाखारहित बैकिङ सेवा सुरु गरेकाले आफुहरू विश्वस्त भएर भौचरसमेत नलिएको जमुनाले गुनासो गरिन् ।

 

‘मान्छेभन्दा बैंकलाई विश्वास गरेर रकम जम्मा गरेँ,’ उनले भनिन्, ‘यो अवस्थाको कल्पना गर्ने कुरै भएन ।’ 

 

शाखारहित बैंकिङ सेवा घमिरका सञ्चालक लम्साल गत १७ माघदेखि फरार छन् । केही समयपछि परिवार नै घरबाट भागे । स्थानीय पूर्णबहादुर बुढामगरले पनि गत माघको पहिलो साता लम्साललाई ५ लाख दिएका थिए ।

 

दोस्रो साताबाट लम्साल भागे । त्यसपछि सञ्चालकसहित परिवार नै घरमा नभएपछि रकम डुब्नेमा बुढामगरसहित थुप्रै स्थानीय चिन्तामा परे । बुढामगरले आफूसहित थुप्रै गाउँलेको रकम बैंकमा नभएपछि बल्ल ठगिएको पत्तो पाएको बताउँदै सोझा गाउँलेलाई नक्कली भौचर भन्ने पत्तो नभएको गुनासो गरे ।

 

लम्साल घरमा लामो समय नभएपछि गाउँलेमा अलिअलि चिसो पसेको थियो । तर, फर्केलान् भन्ने आशा पनि स्थानीयले गरे । परिवार भागेपछि भने रकम डुब्ने चिन्ताले हारगुहार गरिरहेको अर्का पीडित भिम कार्कीले बताए । 

 

पीडित पक्षले आफूहरू ठगिएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत ध्यानाकर्षण गराएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बैंक र पीडितसँग समन्वय गरेर फरार व्यक्तिको खोज्ने काम भइरहेको जानकारी दिए । 

 

मेघा बैंक तम्घास शाखाका प्रमुख तेजेन्द्र कार्कीले सकेसम्म स्थानीयको पैसा फिर्ता गर्ने कोसिस भइरहेको बताए । आफ्नै बैंकको नामबाट नागरिकको लाखौँ रुपैयाँ ठगिँदा पनि आरोपित जोगाउने पक्षमा मेघा बैंकका कर्मचारी रहेको आरोप स्थानीयको छ ।

 

बैंकले केही दिनअघि शाखाको सामान लगेको छ । बोर्ड निकालेर जलाएको छ । 


आरोपित हरिनारायण नदेखिएर उनका आफन्तले राजनीतिक आवरणमा पीडितलाई थुमथुम्याउने काम गरिरहेका छन् । ‘उनका दाजुभाइ र कांग्रेसका नेताहरूले मान्छे बोलाएर केहीको रकम फिर्ता गर्ने र कसैलाई कन्भिन्स गर्ने काम भइरहेको छ,’ एक जना पीडितले भने, ‘मैले कानुनअनुसार कारबाही खोजेको छु ।’

 

मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वेदप्रसाद पन्थीले ठगीको कसुर गर्ने व्यक्ति लुकाएर सोझा जनतालाई गुमराहमा पार्न खोजिएको बताए । 

 

१ लाख रुपैयाँभन्दा कम ठगिएकाको फिर्ता र ठुलो रकमको कागज गर्न आफूलाई कांग्रेस नेताहरूले बोलाए पनि नगएको उनको भनाइ छ । ‘प्रहरीमा उजुरी परेको छ । कसुरदार फरार छन्, कसरी जनप्रतिनिधि बसेर कागज गर्ने ?’ पन्थीले भने, ‘प्रहरी प्रशासनले छिटो आरोपित ल्याउनुपर्‍यो ।’ 

 

आरोपित भागेको १ महिना पुग्न थाल्यो । उनले प्रयोग गर्दै आएको लु ५३ प १५ ७१ नम्बरको मोटरसाइकल बुटवलमा फेला परेको छ । बेवारिसे अवस्थामा छाडेर हिँडेको मोटरसाइकल प्रहरीले ४ फागुनमा बुटवल प्रहरी तालिम केन्द्र अगाडि फेला पारेको हो ।