close

जनकपुर आउने प्रदेश प्रमुखलाई प्रदेश सरकारकै विरोध

जनकपुर आउने प्रदेश प्रमुखलाई प्रदेश सरकारकै विरोध

Trulli
ADVERTISEMENT

धनुषा- प्रदेश प्रमुख राजेश झा आइतबार दिउँसो जनकपुरधाम आउने भएका छन् । उनी प्रदेश प्रमुख नियुक्त भएपछि कार्यक्षेत्रमा आउन लागेका हुन् ।


प्रदेश प्रमुख झा जनकपुरधाम आउन लागेका बेला असन्तुष्ट प्रदेश २ सरकार सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले वहिष्कार गर्ने अथवा विरोधको अन्य कार्यक्रम गर्नेबारे मन्त्रिपरिषद्बाट निर्णय हुने बताए ।

 

तिलक परियारलाई बर्खास्त गरी झालाई प्रदेश प्रमुख नियुक्त गर्ने संघीय सरकारको निर्णयप्रति आपत्ति जनाउँदै मन्त्री यादवले भने, ‘संघीय सरकारको यो कार्यलाई प्रदेश सरकार भत्र्सना गर्छ । अब बस्ने प्रदेश मन्त्रिपरिषद् बैठकमा नवनियुक्त प्रदेश प्रमुखलाई वहिष्कार नै गर्ने वा अन्य कुनै विरोधका कार्यक्रम गर्ने विषयमा निर्णय हुन्छ ।’

 

सामाजिक सञ्जालमा आलोचना र बधाइको क्रम जारी रहेका बेला झाले पद वहाली गर्दै छन् । संघीयतालाई कमजोर र प्रदेश २ को सरकारलाई मानमर्दन गर्न झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको भन्दै आलोचना भइरहेको छ ।

 

संघीयताको विरोध गर्ने व्यक्तिलाई अहिले प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख बनाएको मन्त्री यादवले आरोप लगाए । ‘ठगी मुद्दामा सजाय भोगेका व्यक्तिलाई प्रदेश प्रमुख बनाएर प्रधानमन्त्री ओलीले राजनीतिलाई अपराधीकरण गर्न खोजेका हुन् । असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा प्रधानमन्त्रीबाट भएको छ,’ उनले भने ।

 

चुनावको घोषणा गरेपछि सरकार स्वतः कामचलाउ हुने हुँदा सरकारले कसैलाई नियुक्ति र बर्खास्त गर्न नमिल्ने उनको दाबी छ ।

 

प्रदेश प्रमुखमा नियुक्त गरिएका व्यक्तिको विगतको चरित्रलाई समेत विचार गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए । पत्रकारिता पृष्ठभूमिबाट उदाएका झा पछिल्लो समय सामाजिक सञ्जालमा खुबै सक्रिय थिए ।

 

बिनाकारण परियारलाई बर्खास्त गरिएको भन्दै प्रदेश सरकारका प्रवक्ताले प्रदेश सरकार र प्रदेश प्रमुखबीच द्वन्द्व सुरु भइसकेको संकेत गरे ।