close

प्रहरीलाई अवरोध गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

प्रहरीलाई अवरोध गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

Trulli
ADVERTISEMENT

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ । वडाध्यक्ष कान्छालाल रुम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी आइतबार मुद्दा चलाएको हो ।

 

गाँजा नष्ट गरेर फर्किएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरी मुद्दा चलाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार रुम्बालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

 

मकवानपुर प्रहरीले शनिबार राति राक्सिराङ गाउँपालिका वडा नम्बर १ गाल्छाराङस्थित बारीमा लुकाएर राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको थियो । 

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवराज गुरुङको कमाण्डमा इलाका प्रहरी कार्यालय नेवारपानीसहित खटिएको प्रहरी टोलीले गाँजा जलाएर नष्ट गरेको थियो । प्रहरी टोली गााँजा जलाएर फर्किने क्रममा बाटो अवरोध गरेको भन्दै वडाध्यक्ष रुम्बालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

 

‘हामीले प्रतिबन्धित गाँजा जलाएर फर्किरहेका थियौँ’, प्रहरी उपरीक्षक रानाले भने, ‘वडाध्यक्ष रुम्बाले बाटोमा प्रहरी टोलीलाई अवरोध गर्नुभयो । त्यसैले पक्राउ गरेका हौं ।’ 

 

राक्सिराङ गाउँपालिकाका अधिकांश क्षेत्रमा गाँजा खेती हुने गरेको छ । प्रहरीले हरेक वर्ष राक्सिराङमा लगाइएको गाँजा फडानी र नष्ट गर्ने अभियान नै चलाउने गरेको छ ।