close

तीन महिनादेखि स्वास्थ्य चौकी बन्द, सिटामलसमेत छैन

तीन महिनादेखि स्वास्थ्य चौकी बन्द, सिटामलसमेत छैन

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ४ को तल्लोपालीस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयले सामान्य ज्वरो आउँदासमेत सिटामल किन्न पाएका छैनन् । तल्लोपालीमा रहेको स्वास्थ्य चौकी गत मंसिरदेखि स्वास्थ्यकर्मी नहुँदा बन्द भएको हो ।


सडक सञ्जालसँग नजोडिएको उक्त स्थानमा स्वास्थ्य संस्था बन्द भएपछि हजारौँ स्थानीय औषधोपचारबाट वञ्चित भएका हुन् ।


उक्त स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी मंसिर पहिलो साताबाट हिँडेका र हालसम्म नफर्किएको चंखेलीको वडा नम्बर ४ का स्थानीय विष्णुभक्त जैसीले बताए । 

 

स्वास्थ्य संस्थामा सिटामोलसमेत दिने कर्मचारी नभएपछि तल्लोपाली र माथिल्लो पालीगाउँका ९५ घरधुरी १ घन्टा टाढाको चंखेली गाउँपालिका कार्यालयमा रहेको स्वास्थ्य संस्थामा गएर सेवा लिन बाध्य छन् ।


स्वास्थ्य संस्थामा सामान्य एउटा बोर्डसमेत नराखेको पाइएको छ । तल्लोपालीको स्वास्थ्य चौकीमा अनमी २, अहेब २, एचए १ र कार्यालय सहयोगी २ जनाको दरबन्दी रहेको छ । 


सबै कर्मचारी स्वास्थ्य संस्था रित्याएर काममा लागेपछि चौकी बन्द भएको स्थानीय जैसीले सुनाए ।


उनका अनुसार केही दिनअघि मात्रै ३ दिनदेखि सुत्केरी व्यथाले थला परेकी महिलाको उपचार गर्ने स्वास्थ्यकर्मी नहुँदा उनको ज्यान झन्डै गएको थिएन ।

 

३ दिनदेखि सुत्केरी व्यथाले घरमै छटपटाएकी महिलालाई स्वास्थ्य संस्था लगिए पनि स्वास्थ्यकर्मी नभएपछि घरमै फर्काइएको बिरामीका आफन्तको गुनासो छ ।


उक्त गाउँमा १ जना अहेब पढेर आएका तर स्वास्थ्य संस्थामा कार्यरत नरहेका स्वास्थ्यकर्मीले आफैं सलायन चढाएपछि ती महिलाको ज्यान बचेको हो ।


मौसम परिवर्तनसँगै गाउँमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी र झाडापखालाका बिरामी बढे पनि स्वास्थ्य चौकी बन्द हुँदा स्थानीय उपचारबिनै रित्तो हात घर फर्कन बाध्य छन् । 


स्वास्थ्य चौकी इन्चार्ज दत्तकृष्ण न्यौपानेलाई गत मंसिरमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला बाहिर गएपछि उक्त स्वास्थ्य चौकी बन्द रहेको हुन सक्ने चंखेलीका स्वास्थ्य संयोजक कालीबहादुर बुढाले बताए । संयोजक बुढाका अनुसार इन्चार्ज न्यौपाने कार्यक्षेत्र फर्किइसके पनि स्वास्थ्य संस्थासम्म आई नपुगेका हुन् ।


उनले भने, ‘स्वास्थ्य संस्थामा कार्यरत सबै करारका कर्मचारी हुन् । ती सबैलाई नियमित खटिन परिपत्र गरिसकेका छौँ’, उनले भने ।