close

एक घर एक करेसा बारी अभियान चलाउँदै याङबरक

एक घर एक करेसा बारी अभियान चलाउँदै याङबरक

Trulli
ADVERTISEMENT

पाँचथर- आफैँले  खाने सब्जी, आफैँले उत्पादन उद्देश्य राखेर पाँचथरको उत्तरी याङबरक गाँउपालिकामा एक घर, एक करेसाबारी कार्यक्रम सुरु भएको छ । पाइलट प्रोजेक्टका रूपमा याङबरकको वडा नम्बर ३ मा यो कार्यक्रम लागू भएको हो ।


हरेक घरमा तरकारी उत्पादन गर्ने गरी परीक्षणको रूपमा कार्यक्रम कार्यान्वयन गरिनेछ । वडा नम्बर ३ मा यो कार्यक्रम सफल भए अन्यत्र पनि विस्तार गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत रोहणी आचार्यले जानकारी दिए ।


किसानको मागका आधारमा तरकारी बिउ तथा अन्य सामग्री उपलब्ध गराउने तथा वडामा कृषि प्राविधिक राखेर किसानलाई प्राविधिक सहजीकरण गरिनेछ ।


यहाँका २ सय किसान छानेर कार्यक्रम कार्यान्वयन गरिएको वडाध्यक्ष मुवीन्द्र योङ्याले बताए । कृषिलाई आधुनिकीकरण गर्दै यसबाट आम्दानी बढाउने हाम्रो लक्ष्य हो । गाउँपालिकाको यो नमुना कार्यक्रम याङबरकको वडा नम्बर ३ मा कार्यान्वयन गर्दै छौँ । यसका लागि चालू आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट छुट्याएका छौँ, वडाध्यक्ष योङ्याले भने ।


कार्यक्रम सुरु हुँदै गर्दा केही किसानले आफूलाई पुग्ने मात्र हैन, बजारमा बिक्री गर्ने गरी उत्पादन थालेको उनले जानकारी दिए ।


कार्यक्रम कार्यान्वयन नगर्नेलाई वडाबाट दिइने सुविधामा रोक लगाइने वडाध्यक्ष योङ्याले बताए । किसानलाई वर्षैभर पुगेर आर्थिक आम्दानी लिन गरी तरकारी खेती गर्न पनि उनको आग्रह छ । 


कतिपय किसानले गाउँपालिका तथा वडाको साथ पाएपछि तरकारी उत्पादनमा लागेका छन् । साग, गोभी, मटरकोसा, मूला, आलुलगायत तरकारी खेती सुरु भइसकेको छ । 


वडा नम्बर ३ मा कृषि उत्पादनका लागि उर्बर जमिन भएकाले पनि कृषकको उत्पादन बढ्ने अपेक्षा गाउँपालिकाको छ । उत्पादित तरकारी घरमा मात्र नभई बजारमा पनि बिक्री गर्न थालेको छु । यो कार्यक्रम मलाई ठीक लाग्यो । बिउबिजन मात्र नभई सीपमा पनि सहयोग हुन थालेको छ । हामीजस्ता कृषिकर्ममा उत्साहितलाई अवसर पनि हो, कृषक कृष्णभक्त न्यौपानेले भने ।


राम्रो सडक सुविधा भएकाले यहाँको उत्पादन बजार पुर्याउन सहज छ । औलको बेँसीदेखि लेकाली क्षेत्र भएको यो वडामा उत्पादनमा विविधता छ । कृषिलाई आधुनिकीकरण गर्दै तरकारीमा आत्मनिर्भर बनाएर आर्थिक आयआर्जन गराउने यो योजना महत्त्वपूर्ण रहेको कृषक सुनाउँछन् ।


स्थानीय सरकारले अघि बढाएको यो नमुना योजना वडामा सफल गराएर गाउँपालिकाभर सफल कार्यान्वयन गर्न सके अन्य स्थानीय तहलाई पनि सिकाइ हुने देखिन्छ