close

कर्णालीका ५ जिल्लामा ५० शय्याका अस्पताल बन्दै

कर्णालीका ५ जिल्लामा ५० शय्याका अस्पताल बन्दै

Trulli
ADVERTISEMENT

जुम्ला-  कर्णाली प्रदेशका ५ जिल्लामा ५०/५० शय्याका अस्पताल बन्ने भएका छन् । विकट भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्यअनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो ।


कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको १ अर्ब ५० करोड रुपैयाँ लगानीमा कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा ५० शय्याका अस्पताल निर्माण हुने भएका हुन् ।


सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले कर्णालीका ५ वटै जिल्लामा अस्पताल निर्माण अघि बढाएको कार्यालयका सबइन्जिनियर चन्द्र खड्काले बताए ।


उनका अनुसार आउँदो ३ वर्षभित्र ५ वटै जिल्लामा ५०/५० शय्याको सुविधासम्पन्न अस्पताल निर्माण सम्पन्न हुनेछ । उनले भने, ‘सरकारले एक स्थानीय तह एक अस्पताल, हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रसँगै दुर्गमका जिल्लामा सुविधासम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छ ।’


सोही लक्ष्यअन्तर्गत ३ वर्षभित्र कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा १ अर्ब ५० करोड रुपैयाँ लागतमा ५० शय्याको अस्पताल निर्माण हुँदै छन् ।


५ जिल्लामध्य हुम्ला, दैलेख र सल्यानमा अस्पताल निर्माणका लागि बोलपत्र भएर काम अघि बढेको छ । डोल्पा र रुकुम पश्चिमको प्रक्रियामै छ । बहुवर्षीय आयोजनाका रूपमा ३ वर्षभित्र अस्पताल निर्माण गरी हस्तान्तरण गरिने सबइन्जिनियर खड्काले जानकारी दिए ।

३ वर्षभित्र कर्णालीका ५ जिल्लामा ५०/५० शैया अस्पताल निर्माण हुने गरी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


हुम्लामा २९ करोड ६६ लाख, डोल्पामा २९ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै, दैलेखमा ३६ करोड ३६ लाख, सल्यानमा २८ करोड र रुकुम पश्चिममा २८ करोड ९१ लाख रुपैयाँ छुट्याइएको छ । ७ प्रदेशमध्ये संघीय सरकारले कर्णालीमा नमुना कामका रूपमा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।