close

गलकोटका ३ वटा सामुदायिक वनमा आगलागी, करोडौँको क्षति

गलकोटका ३ वटा सामुदायिक वनमा आगलागी, करोडौँको क्षति

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको गलकोटका ३ वटा सामुदायिक वनमा ठूलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि लागेको आगो नियन्त्रणबाहिर गएपछि करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।


गलकोट नगरपालिका वडा नम्बर ५ र ७ का ३ वटा सामुदायिक वनमा आगलागी हुँदा करोडाँैको क्षति भएको पत्रकार थम्मन थापाले जानकारी दिए । भैँसे दानसिङडाँडा सामुदायिक वन गलकोटको वडा नम्बर ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायीक वनसम्म फैलिएको छ । 

आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झन्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले बताए । दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणबाहिर रहेको उनको भनाइ छ । 


सोही आगो छिमेकी वडा नम्बर ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त वनको झन्डै २० हेक्टरमा क्षति भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिइन् । 

आगलागीका कारण दानसिंङ सामुदायिक वनसँगै जोडिएको नगरपालिकाको वडा नम्बर ५ मा पर्ने गगनपानी सामुदायिक वनको झन्डै ५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ ।

जंगलमा फैलिरहेको आगो बस्तीतिर आउने खतरा रहेको भन्दै स्थानीय चिन्तित बनेको नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिए ।

साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा नियन्त्रण गर्न कठिन भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता सहानी थापाले बताइन् ।