close

भक्तपुरको आठौँ नगरसभा: नक्सा पास र सूचीकरण कार्यविधि पारित

भक्तपुरको आठौँ नगरसभा: नक्सा पास र सूचीकरण कार्यविधि पारित

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौँ नगरसभा बैठकले साविक मापदण्डअनुसार निर्माण भएका घर/भवनको नक्सा पास र सूचीकरणसम्बन्धी कार्यविधि २०७७ र करसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

 

उक्त कार्यविधिको उद्देश्य भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू हुनुभन्दा अगाडि नक्सा पास नगरी साविक मापदण्डअनुरूप भएको र मापदण्डअनुरूप नभएका वा पास भएको नक्साभन्दा हेरफेर गरी घर तथा भवन आदि निर्माण गरेको र मापदण्डअनुसार नभएका घरको नियमित एवं नक्सा पास र सूचीकृत गर्ने रहेको छ ।    

 

साविक मापदण्डअनुसार निर्माण भएका घर/भवनको नक्सा पास र सूचीकरणसम्बन्धी कार्यविधि, २०७७ बारेको छलफलमा सभासद्हरू सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर माता र गोविन्द दुवालले सुझाव राखेका थिए ।


    
छलफलमा उठेका विषयमा विधायन समिति संयोजक हरिराम सुवालले जवाफ दिँदै विधेयकमा भएका हिज्जे त्रुटि संशोधन गर्दै यसलाई कार्यान्वयन गर्नेतर्फ क्रियाशील रहने बताए ।

 

नगरपालिकाले नगरबासीलाई लक्षित गरी दिइरहेको सीपमूलक तालिम र खेलकुद प्रशिक्षणको सदुपयोगबारे अनुगमन गर्नुपर्ने, नगरमा दिगो र स्तरीय सडक बत्ती व्यवस्थापन गर्नुपर्ने, घरबाटो सिफारिस दस्तुरमा परिमार्जन गर्नुपर्ने, पर्ति जग्गा मिचेर घर बनाउनेको नक्सा पास रोक्नुपर्नेमा सहभागीले नगरपालिकाको ध्यानाकर्षण गराए ।

 

यस्तै, नगरपालिकाको पहलमा चिस्यान केन्द्र बनाउनुपर्ने, नगरले सञ्चालन गर्ने आदर निकेतन यशाशक्य छिटो बनाउनुपर्ने, तलेजुभित्रको चोकमा अवस्थित पौभा चित्र संरक्षण गर्नुपर्ने, तारा माविमा भवन अभावका कारण दैनिक पठनपाठनमा समस्या भइरहेकोतर्फ उनीहरूले ध्यानाकर्षण गराए ।