close

नमोबुद्धको वडा कार्यालय भवन शिलान्यास

नमोबुद्धको वडा कार्यालय भवन शिलान्यास

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । कार्यालय भवनको सोमबार शिलान्यास भएको हो । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भूमिपूजन गरी वडा नम्बर ७ को कार्यालय भवन शिलान्यास गरे ।


कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले ‘गाउँ–गाउँमा सिंहदरबार’ नारालाई व्यवहारमै उतार्न सबै वडाको आफ्नै सुविधासम्पन्न भवन निर्माण अघि बढाइएको बताए । 


यसअघि ३ वटा वडा कार्यालय भवन निर्माण थालिएकामा निर्माण सम्पन्न भइसकेको तथा अन्य ३ वटा कार्यालय भवन निर्माण सुरु भइसकेको उनले जानकारी दिए ।


यही वर्ष वडा नम्बर २, ७, ८, ९ र १० को कार्यालय भवन निर्माण सम्पन्न हुने तथा वडा नम्बर १ र ५ को कार्यालय भवन निर्माणका लागि प्रक्रिया सुरु गरिसकिएको तिमल्सिनाले बताए । 
नगरबासीलाई सहज रूपमा सेवा प्रदान गर्न सबै वडामा स्वास्थ्य संस्थाको भवन निर्माण गरिसकिएको उनले जानकारी दिए । 


तिमल्सिनाले ऐतिहासिक दाप्चाको संरक्षण, सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम जनप्रतिनिधि आएपछि सुरु भएको र यसले यस दाप्चा क्षेत्रको मुहार परिवर्तनमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गरे । 


कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले वडा कार्यालय भवन निर्माण चाँडै सम्पन्न हुने विश्वास व्यक्त गर्दै भौतिक संरचना निर्माण गर्ने मात्र नभई त्यसको उचित प्रयोग र व्यवस्थापनमा जोड दिनुपर्ने बताइन् । 

नमोबुद्ध स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने बताउँदै तामाङले राज्यले पर्यटन विकासमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याइन् ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सबै वडामा कार्यालय भवन निर्माण भइसकेपछि सेवा प्रवाह अझै प्रभावकारी हुने बताए । नगरबासीलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यअनुसार आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको पौडेलको भनाइ छ । 


वडा नम्बर ७ का वडाध्यक्ष धर्मसिं लामाले भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउँदै खनालथोक क्षेत्रमा पर्यटकीय गुरुयोजना बनाएर काम अघि बढाउन जोड दिए । वडाभित्रका गोरेटोलाई सिँढीमा परिवर्तन गर्दै लगिएको, रजबमपोखरी तथा भुपाले वनको गुरुयोजना तयार पारी काम अघि बढाइएको लामाले जानकारी दिए ।


वडा नम्बर ७ को कार्यालय रहेको स्थानसँगै २०४६ का सहिदको शालिकसहित सहिद पार्क निर्माणको योजना अघि बढाइएको लामाले बताए । 


कार्यक्रममा वडा नम्बर ९ वडाध्यक्ष मेलबहादुर लामाले तोकिएको समयमै वडा कार्यालय भवन निर्माण सम्पन्न हुने अपेक्षा व्यक्त गरे । वडा सचिव श्रीधर खनालले सञ्चालन गरेको कार्यक्रममा पूर्वगाविस अध्यक्ष कृष्ण खनाल, कार्यपालिका सदस्य अप्सरा हुमागाईंलगायतले मन्तव्य राखेका थिए ।
 

नमोबुद्धले यसै वर्ष निर्माण सम्पन्न गर्ने गरी ५ वटा वडा कार्यालय भवन निर्माण अघि बढाएको छ । यसअघि वडा नम्बर ८, ९ र १० को वडा कार्यालय शिलान्यास भई काम सुरु भइसकेको छ भने वडा नम्बर २ को कार्यालय निर्माण यसै साता सुरु हुनेछ ।


वडा नम्बर २ को भवन निर्माणका लागि सिद्धिविनायक निर्माण सेवासँग ४० लाख ८७ हजार ६ सय ८५ रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालले जानकारी दिए । अर्यालका अनुसार नगरका ११ वटै वडामा एउटै डिजाइनको वडा कार्यालय निर्माण हुनेछन् ।