close

शंकास्पद मृत्यु भएका युवकको फोटो प्रहरीले नै फेरेपछि....

शंकास्पद मृत्यु भएका युवकको फोटो प्रहरीले नै फेरेपछि....

Trulli
ADVERTISEMENT

मोरङ- मोरङको उर्लाबारीका एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले गरेको अनुसन्धानमा अर्कै व्यक्तिको फोटो राखेको भेटिएसँग मृतकका आफन्तले इलाका प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन् । 

 

उर्लाबारी नगरपालिकाको वडा नम्बर ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीय आन्दोलित भएका हुन् ।

 
३१ वर्षीय बाँस्तोलाको गत ५ पुसमा मृत्यु भएको थियो । आफन्तले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय मोरङमा बुझाएको थियो । 

 

उक्त घटना अनुसन्धानका लागि प्रहरीले उर्लाबारीको वडा नम्बर ६ का ३१ वर्षीय राजेश रणपहेलीलाई पक्राउ गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले मिसिल अध्ययनपछि मुद्दा चलाउन नमिल्ने भन्दै २ माघमा रणपहेलीलाई जमानीमा छाडेको थियो ।

 

मृतक भनेर ३ वटा फोटो राखिएकामा एउटा फोटो अर्कै व्यक्तिको परेपछि २ दिन देखि उर्लाबारीमा स्थानीयले विरोध गर्दै आएका छन् । मृतक बास्काटाको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । मृतावस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री नभएको परिवारका सदस्यले बताए छ ।

 

यद्यपि प्रहरीले अनुहारै नचिनिने व्यक्तिको तस्बिर घटना मुचुल्कामा संलग्न गरेको आफन्तको आरोप छ ।

 

फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाएपछि आरोपीलाई मुद्दा नचलाएको आफन्तको गुनासो छ । प्रवीणको मृत्यु शंकास्पद भएको दाबी गर्दै आफन्तले ९ पुसमा उर्लाबारी वडा नम्बर ६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । 

 

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको देखिएकाले मृतका आफन्त र स्थानीयले आइतबारदेखि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

 
प्रहरीले हतार–हतार मिसिलमा रहेको फोटो र कागजात परिवर्तन गरेको पीडितको आरोप छ । अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै सडकमा आउनु परेको मृतककी बहिनी सदीक्षाले बताइन् । प्रहरीले भने उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताउँदै आएको छ । 


छानबिन समिति गठन 

 

स्थानीय आन्दोलित भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राई संयोजकत्वको छानबिन समिति बनाएको छ । फरेन्सिक जाँचको रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्रहरीले बताएको छ । 


गत ४ पुसमा घरबाट निस्किएका प्रवीणको मृत्यु भएको खबर भोलिपल्ट राती मात्रै परिवार तथा आफन्तले पाएका थिए । आफन्तले प्रवीणको शव गोदावरी अस्पतालमा भेटेका थिए । प्रवीणको योजनाबद्ध रूपमा हत्या गरिएको आफन्तको आरोप छ ।