close

होटल खोल्यौँ, फिरन्ते मार्ग पनि बनायौँ, पर्यटक खै सरकार !

होटल खोल्यौँ, फिरन्ते मार्ग पनि बनायौँ, पर्यटक खै सरकार !

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरासहित गण्डकी प्रदेशको मुख्य आम्दानी पर्यटन हो । देखिने गरी राजस्व नउठे पनि पर्यटक आए मात्र यहाँको गतिविधि चलायमान हुन्छ ।

 

पर्यटक भए अर्थतन्त्र चल्छ, होटल, रेस्टुराँ र पर्यटकीय गन्तव्य खुल्छन् । हेर्ने मान्छे नभए देखाउन बनाइएका संरचना, करोडौँ रुपैयाँ खर्चिएर खोलिएका होटल, पर्यटक नै नआए फिरन्तेका लागि बनाइएका पदमार्ग र गन्तव्य खोलेर के फाइदा ! पर्यटन व्यवसायीको सामूहिक गुनासो छ ।

 

पर्यटन व्यवसायी सरकारसँग गुहार मागिरहेका छन्, ‘पर्यटन उठ्नै सकेन । सहयोग चाहियो ।’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष सुशीलराज पौडेल थलिएको पदयात्रा पर्यटन उकासिदिन सरकारसँग आग्रह गर्छन् ।


‘कोभिड– १९ ले व्यवसायीलाई परेको समस्यामा बारम्बर सरकारसँग लिखित र मौखिक रूपमा अनुरोध गर्दै आयौँ । थला परेको पदयात्रा व्यवसायलाई पुनर्जीवन दिन आग्रह गर्‍यौँ’, उनले भने, ‘अहिलेसम्म सुनिएन । सरकारले जारी गरेको प्रवेषाज्ञा र मापदण्डले पर्यटक तर्सिए । घुम्न निस्किएनन् ।’ 

 

७२ घन्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा ५ दिनसम्म अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने प्रावधान हटाउन पौडेलले माग गरे । अनलाइन र अन अराइभल प्रवेषाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट प्रवेषाज्ञाको सहजीकरण पहिलेजस्तै गरिदिन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल रिपोर्ट दिन सकिने कोभिड-१९ जाँच मेसिन राख्न र तोकिएको स्वास्थ्य निकायबाट नमुना संकलन गर्न पनि पर्यटन व्यवसायीको सरकारसँग माग छ ।

 

अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न टानले विशेष आग्रह गरेको छ । कोरोनाविरुद्धको खोप प्राथमिकताका साथ अग्रपंक्तिमा रही काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल–चीनबीचको सीमानाका यथाशीघ्र खोल्न पहल गर्नुपर्ने, नेपाल घुम्न आउने पर्यटकले साहसिक पदयात्रामा जाँदा पर्यटक सुरक्षाका कारण कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न गराउन पाउनुपर्ने व्यवस्था लागू गर्न सुझाइएको छ । 


छिमेकी देशको नाकाबाट भित्रिने पर्यटकलाई सहज बनाएर अनुगमन गर्न र हाल कायम रहेको पर्यटकले गर्नुपर्ने कम्तीमा ५ हजार डलर बराबर तोकिएको अनिवार्य कोरोना बिमा व्यवस्था नहटाउँदासम्म पर्यटक नआउने पर्यटन व्यवसायीको तर्क छ । 

 

प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षाकोषमा पर्यटन व्यवसायलाई प्रमुख प्राथमिकता दिन आग्रह गरिएको छ ।