close

चन्द्रौटामा ५० शय्याको सरुवा रोग प्रादेशिक अस्पताल 

चन्द्रौटामा ५० शय्याको सरुवा रोग प्रादेशिक अस्पताल 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- जग्गा व्यवस्थापनमा ढिलाइ भएपछि रोकिएको लुम्बिनी प्रदेशको पहिलो सरुवा रोग अस्पताल निर्माण अगाडि बढेको छ । २९ माघको मन्त्रिपरिषद् बैठकले वातावरणीय प्रभाव मूल्यांकन गरी अस्पताल संरचना निर्माणका लागि वन क्षेत्र भोगचलनको अनुमति दिएपछि अस्पताल निर्माण हुने भएको हो । 

 

अनुमति पाएसँगै अब शिवराज नगरपालिका वडा नम्बर ५ को चन्द्रौटा बजार नजिकै पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतर्फको वन क्षेत्रको ९ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्ने बाटो खुलेको छ । 


अस्पताल ५० शैय्या क्षमताको हुनेछ । संरचना निर्माण र उपकरण जडानका लागि २ अर्ब रुपैयाँ बढी लगानी हुने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताइन् ।

 

जग्गा व्यवस्थापनका लागि कपिलवस्तुबाट पूर्वमन्त्री ईश्वरदयाल मिश्र, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रदेश सभा सदस्य अर्जुनबहादुर केसी, नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु अध्यक्ष झविलाल पोख्रेल, समाजसेवी महादेव पोख्रेलको टोलीले प्रधानमन्त्री केपी ओलीसँग भेटसमेत गरेको थियो ।

 

भेटपछि वातावरणीय प्रभाव मूल्यांकन र अस्पतालको संरचना निर्माणका लागि डिपिआरको काम अगाडि बढेको छ । डिपिआर सम्पन्न भएपछि भवन निर्माणका लागि टेन्डर खुलाइनेछ ।

 

संघीय सरकारको प्रत्येक प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने नीतिअनुसार लुम्बिनी प्रदेश सरकारको बजेट भाषणमा कपिलवस्तुको चन्द्रौटामा अस्पताल बनाउने योजना थियो । जग्गा उपलब्ध नभएपछि बजारसँग जोडिएको वन क्षेत्रमा अस्पताल निर्माणका लागि सिफारिस गरिएको थियो । 

 

मन्त्रिपरिषद्को निर्णयबिना जग्गा प्राप्ति अगाडि नबढेपछि जग्गा भोगचलनका लागि सरकारसँग ध्यानाकर्षण गराइएको पूर्वभौतिक योजना राज्यमन्त्री मिश्राले बताए ।

 

प्रधानमन्त्री, वनमन्त्री र स्वास्थ्यमन्त्रीले चासो दिएपछि ईआईए गरी भोगचलन गर्न दिने निर्णय भएको थियो । ‘निर्णयपछि बल्ल अस्पताल बन्ने ढुक्क भयो । माग सम्बोधन भएकामा जिल्लाबासीसमेत खुसी छन्’, स्थानीय समाजसेवी महादेव पोख्रेलले भने ।