close

सुपथ मूल्यका घुम्ती पसल खोल्दै व्यास गाउँपालिका

सुपथ मूल्यका घुम्ती पसल खोल्दै व्यास गाउँपालिका

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको व्यास गाउँपालिकाको एकीकृत विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाका ६ वटै वडाका ८ स्थानमा सुपथ मूल्यका घुम्ती पसल सञ्चालन हुने गर्ने भएको छ ।

 

स्थानीय तहसँगको समन्वयमा नेपाल सरकारले हालै जारी गरेको व्यासको एकीकृत विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले ६ वटै वडामा सुपथ मूल्यका घुम्ती पसल सञ्चालन गर्ने भएको हो ।

 

व्यास गाउँकार्यपालिका बैठकले वडा नम्बर १ र २ का २-२ ठाउँ तथा अन्य ४ वटा वडामा १–१ वटा घुम्ती पसल सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । 

 

उनले भने, ‘हामीले एकीकृत व्यास गाउँपालिकाको विकास कार्यक्रमअन्तर्गत वडा नम्बर १ को छांगरु र टिंकरमा अलग–अलग सुपथ मूल्यका घुम्ती पसल राख्दै छौँ भने वडा नम्बर २ को दुम्लिङ र राप्लामा पनि यस्ता पसल सञ्चालन हुनेछन् ।’

 

सरकारले व्यासको एकीकृत विकासका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनका लागि प्रतिपसल ३ लाख ७५ हजार रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । 

 

सुपथ मूल्य पसल सञ्चालनका लागि गाउँपालिकाले कार्यविधि बनाएर प्रक्रिया अघि बढाउने अध्यक्ष बुढाथोकीले बताए । सडक पहुँच नपुगेको व्यासको वडा नम्बर १ र २ का स्थानीयलाई सहज रूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुपथ मूल्यको पसल प्रभावकारी बन्ने गाउँपालिकाले जनाएको छ ।

 

सुपथ मूल्यका पसल नहुँदा यो वर्ष सरकारले व्यासको छांगरु र टिंकरका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको थियो । सरकारले व्यास क्षेत्रको विकासका लागि एकीकृत विकास योजना सार्वजनिक गरेको छ ।


लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै गाउँपालिका

 

व्यास गाउँपालिकाले शैक्षिक बेरोजगारका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । पढालेखा भए पनि लोकसेवा आयोगको तयारी गर्न नसकेका गाउँपालिकाका शैक्षिक बेरोजगारका लागि पालिकामै लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिने भएको हो ।

 

अध्ययनकै क्रममा रहेका तथा अध्ययन सकेर आयोगको तयारीमा बसेका विद्यार्थीका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए ।

 

आयोगको कक्षा सञ्चालनका लागि गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

आर्थिक अभावका कारण कतिपय विद्यार्थीले लोकसेवा तयारी गर्न नसकेपछि उनीहरूलाई लक्षित गरी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।