close

संकटमा पर्यटन क्षेत्रः व्यवसायी भन्छन्, सरकारले चासो दिएन 

संकटमा पर्यटन क्षेत्रः व्यवसायी भन्छन्, सरकारले चासो दिएन 

Trulli
ADVERTISEMENT

काठमाडौं- कोभिड-१९ महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र करिब १ वर्षसम्म पनि लयमा फर्कन सकेको छैन । सरकारले विदेशी पर्यटकलाई नेपाल भित्र्याउन ध्यान नदिँदा पर्यटन क्षेत्र लयमा फर्कन नसकेको हो । 

 

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने साथै भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजना अगाडि सारेको थियो । तर, विश्वभर फैलिएको कोरोना भाइसरका कारण भ्रमण वर्ष ३ महिनामै स्थगित भयो । 

 

महामारीले गर्दा नै सन् २०२० भर पर्यटक आवागमन ठप्प भयो । अहिले जनजीवन सामान्य बनेर अन्य क्षेत्रमा चहलपहल बढिसक्दा पनि पर्यटन भने चलायमान हुन सकेको छैन । 

 

नेपाललगायत अन्य मुलकमा कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ भने नयाँ संक्रमितको संख्या पनि दैनिक घट्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

 

अहिले पनि नेपाल भित्रिने पर्यटकको संख्या न्यून छ । अध्यागमन विभागको तथ्यांकअनुसार मासिक करिब ८ हजार हाराहारी मात्रै पर्यटक भित्रिइरहेका छन् ।  यो समय विगतका वर्षमा मासिक १ लाख हाराहारी पर्यटक नेपाल भित्रने गरेको तथ्यांक छ । 


पर्यटन पूर्वाधारको क्षमताअनुसार पर्यटक आगमन नहुँदा धेरैजसो पर्यटकीय क्षेत्रका ट्रेकिङ, होटल, होमस्टे, पर्यटकीय मनोरञ्जनसहितका पर्यटकीय गतिविधि चलायमान हुन नसकेको होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले बताए ।

 

पर्यटन क्षेत्रलाई सरकारले बेवास्ता गरेको पर्यटन व्यवसायीको गुनासो छ । नेपाल आउन चाहने पर्यटकलाई सरकारले रोकेको छ । ७२ घन्टाको पिसिआर रिपोर्ट हुनेलाई ५ दिने क्वारेन्टाइन व्यवस्था गरेको छ । 

 

सरकारले विदेशी पर्यटकलाई नेपाल भित्रन नदिएको नाटाका अध्यक्ष अच्युत गुरागाईंले बताए । सरकारी निकाय र निजी क्षेत्रको समन्वयमै पर्यटन पुनरुत्थान कार्ययोजना बनेको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानले जानकारी दिए ।

 

समस्यामा परेका पर्यटन व्यवसायी र मजदुरको माग सम्बोधन नहुँदा तथा सरकारी निकायले निजी क्षेत्रसँग समन्वय नगर्दा पर्यटन पुनरुत्थान हुन अझै १ वर्ष पर्खनुपर्ने पर्यटन व्यवसायी बताउँछन् ।


कहाँ पुग्यो दीर्घकालीन योजना 

पर्यटनलाई व्यवस्थित बनाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही योजना ल्याएको थियो । यो योजनामा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा २ दिन बिदा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्ने, कोरोना प्रभावित व्यवसायीलाई राहतमा आवश्यक समन्वय गर्नेलगायत थिए ।

 

तर, पर्यटन व्यवसायी भने मन्त्रालयको समन्वय कमजोर भएका कारण यी योजना अगाडि बढ्न नसकेको बताउँछन् । 

 

त्यस्तै, राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना छन् । पोखरा र भैरहवा निर्माणको अन्तिम चरणमा पुगेका छन् भने निजगढको अहिलेसम्म टुंगो लागेको छैन । 

 

७ वर्षदेखि नेपाली वायुसेवालाई युरोपेली युनियन (ईयू) ले कालोसूचीमा राखेको छ । यसले गर्दा नेपाली वायुसेवा युरोपेली मुलुकमा जान पाएका छैनन् । विदेशी पर्यटकले नेपालमा आउन सुरक्षा सतर्कता र बिमा रकम बढी तिर्नुपर्ने भएको छ ।


राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सुधार कार्ययोजना पनि मन्त्रालयको अर्को योजना हो । पर्यटन मन्त्रालयले अगाडि सारेको नेपाली र विदेशीलाई समान भाडा, विदेशीबाट लिइने डलर भाडा हटाएर नेपालीमै भाडा निर्धारण गर्ने, ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट, हवाई इन्धनको मूल्य समायोजन गरेर हवाई टिकट नेपालीको पहुँचमा ल्याउनेसहितका योजना छन् । 

 

योजना अगाडि सारे पनि कार्यान्वय पक्ष भने फितलो रहेको पर्यटन व्यवसायीको भनाइ छ ।