close

उत्पादनको उर्बर थलोमै पाइन छाड्यो स्याउ

उत्पादनको उर्बर थलोमै पाइन छाड्यो स्याउ

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा स्याउ उत्पादनका लागि उर्बर थलो मानिँदै आएको छ । नेपालका ठूला सहर बजारमा अन्य जिल्लाको स्याउलाई जुम्लाको स्याउको नाममा बिक्री वितरण गर्ने चलन अद्यापि छ ।

 

तर, जुम्लामा भने फागुन दोस्रो सातासम्म एउटा पनि स्याउको दाना पाइँदैन । यहाँ उत्पादित स्याउ भदौ, असोजमा बिक्री गरेपछि उत्पादन हुने भूमि जुम्लामै स्याउ पाउन छाडेको हो । 

 

अघिल्लो वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा गिरावट आएपछि अहिले जुम्लामा स्याउ भेटाउन मुस्किल परेको स्थानीय कृषक रामकृष्ण बुढ्थापाले बताए । यस वर्ष जुम्लाबाट १९ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ । 

 

गत वर्ष ३४ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको जुम्लाबाट यस वर्ष १५ करोड रुपैयाँले निर्यात घटेको हो । 

 

गत वर्ष स्याउबाट ३ वर्षकै दोब्बर आम्दानी भएको जुम्लामा यस वर्ष उत्पादन दोब्बर कम भएपछि आम्दानी पनि ह्वात्तै घटेको कृषि विकास कार्यालयका कृषि अधिकृत खेमराज शाहीले बताए । 

 

‘जुम्लामा गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर, यस वर्ष ६ हजार २ मेट्रिक टन स्याउ उत्पादन भएको छ’, उनले भने, ‘यस वर्ष जुम्लामा २-३ वर्षयताकै स्याउ उत्पादन घटेको छ । यसले गर्दा स्याउ खेतीमै भविष्य देखेका किसान समस्यामा परेका छन् ।’ 

 

जलवायु परिवर्तनले हिउँ नपर्ने, बगैँचामा भाले जातको बिरुवा नहुनु, तालिम प्राप्त प्राविधिकबाट बिरुवा काँटछाँट नहुनुलगायत कारणले स्याउ उत्पादनमा गिरावट आए०को उनको अनुमान छ ।


तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १६ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १७ करोड, २०७६/०७७ मा ३४ करोड रुपैया र आव २०७७/०७८ १९ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको कृषि अधिकृत खेमराज शाहीले बताए ।


पछिल्लो समय प्राविधिक ज्ञानभन्दा हचुवाकै भरमा भइरहेका स्याउ खेतीले उत्पादन बढ्ने भन्दा घट्ने अवस्थामा पुगेको कृषि अधिकृत शाही बताउँछन् । 

 

जुम्लामा स्याउ उत्पादन पनि गर्त वर्षभन्दा दोब्बर घटेको छ । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष ६ हजार २ सय १० मेट्रिक टन मात्रै भएको कृषि विकास कार्यालयको तथ्यांक छ ।


कृषि अधिकृत शाहीले भने, ‘यस वर्ष जम्मा ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकामा ४ हजार ३ सय ४७ मेट्रिक टन मात्रै निर्यात भएको छ । स्याउ खेती गरिएको ३ हजार ८ सय ८५ हेक्टर जमिनमध्ये १ हजार ५ सय ५४ हेक्टरमा मात्रै स्याउ फल्यो ।’