close

पत्रकारलाई सडक कालोपत्रेको ठेक्का

१ वर्षमै उप्कियो, जताततै भ्वाङ 

पत्रकारलाई सडक कालोपत्रेको ठेक्का

१ वर्षमै उप्कियो, जताततै भ्वाङ 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुका स्थानीय सरकारले बनाएको कालोपत्रे सडकको गुणस्तर कमसल भएपछि टिकाउन सकस परेको छ । कर्मचारीसँग सेटिङ मिलाएर भुक्तानी लगे पनि सडकको गुणस्तर कमजोर भएपछि यस्तो समस्या देखापरेको हो ।


न्यून गुणस्तरका कारण सडक कालोपत्रे गरेको महिना नपुग्दै भत्किने गरेका छन् । गुणस्तरीय पिच १० वर्ष टिक्नुपर्ने गरी डिजाइन गरिएको इन्जिनियर वीरेन्द्रप्रकाश गुप्ता बताउँछन् । तर, अधिकांश कालोपत्रे १ वर्षभित्रै बिग्रिएका छन् ।


निर्माण सम्पन्न भएको १ वर्षभित्र बिग्रिए मर्मत गर्ने जिम्मा ठेकेदारकै हुन्छ । तर, स्थानीय सरकारले मर्मतका लागि ठेकेदारलाई अनुरोधसमेत गर्दैनन् । 

 

महाराजगन्ज नगरपालिकाको वडा नम्बर ११ वनगाईमा निर्माण भएको २.१ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भएको ३ महिनाभित्र बिग्रिएको थियो । १ करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको सडक बर्खाका बेला हतारहतारमा बनाइएको थियो ।


सडक कालोपत्रे गर्दा वातावरणको तापक्रम २५ डिग्रीदेखि माथि हुनुपर्छ । तर, स्थानीय सरकारले बजेट सक्नैका लागि हतारमा पानी परेका बेलासमेत काम हुने गरेको छ ।


तौलिहवाको जय निर्माण सेवाले उक्त सडक निर्माण गरेको महाराजगन्ज नगरपालिकाका इन्जिनियर प्रमोद चौधरीले बताए । नगरप्रमुख अब्दुल कलामले मर्मतका लागि ठेकेदारसँग कुरा गरिने बताए पनि मर्मत हुन सकेको छैन ।


यसैगरी बुद्धभूमि नगरपालिका वडा नम्बर २ मा बनेको कालोपत्रको आधा भाग नै उप्किएको छ । नगरप्रमुख केशवकुमार श्रेष्ठ नजिकका तरुण दलका जिल्ला सदस्यसमेत रहेका प्रमोद पौडेलको शाही पोख्रेल निर्माण सेवाले सडक निर्माण गरेको थियो । 

 

अहिले एकातर्फ आधा भाग काम नलाग्ने गरी भत्किएको छ । यो प्रस्तावित नगर अस्पताल र गौतम बुद्ध क्याम्पस पुग्ने सडक समेत हो । मुख्य सडकको अवस्था खस्किँदासमेत नगरपालिका बोल्न सकेको छैन ।

 

निर्माण सम्पन्न गरेर भुक्तानी लिने बेला कालोपत्रे उप्किए र मर्मत गरेको सडक १ वर्षमै जीर्ण भएको छ । बुद्धभूमि नगरपालिकाको वडा नम्बर १० को कार्यालय पुग्ने बुड्ढी गेल्वार सडकसमेत बनेको १ वर्षमै भत्किन थालेको छ ।

 

गत आवमा निर्माण भएको वडा नम्बर ५ पुग्ने सहरिहरपुरदेखि वडा नम्बर ८ जोड्ने सडक भुक्तानी लिनुअगाडि भत्किएपछि पुनः निर्माण भएको छ । पुनर्निर्माण गरिएको सडकसमेत कमसल भएको स्थानीय बताउँछन् ।


स्थानीय सरकारले बनाएका अधिकांश सडक कालोपत्रे उप्किने, सडकमा खाल्डा पर्ने, भासिनेजस्ता समस्या देखा पर्दै आएका छन् । ठेक्का लगाउँदा ठेकेदारले आधा मूल्य कममा काम गर्न तयार भएपछि सडकको गुणस्तर खस्किएको हो ।

 

स्थानीय सरकारसँग सडक ठेक्का लिने पत्रकारदेखि सत्तारुढ पार्टी निकटका कार्यकर्ता छन् । पत्रकार र कार्यकर्ताले निर्माण गरेको सडक धेरैजसो कमसल हुने गरेको छ । 

 

केही सडक निर्माण गुणस्तरहीन भएको समाचार बाहिरिएपछि सहकर्मी पत्रकारले फोन गरी व्यवसाय डुब्ने गरी समाचार नलेख्न आग्रह गरेको पत्रकार शनीउल्ला धोवी बताउँछन् ।